काठमाडौँ, मङ्सिर १२ गते । सञ्चार र समन्वय एक सिक्काका दुई अभिन्न पाटा हुन् भन्ने विषय प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सरकार र पत्रकारबिचको समन्वयले पुष्टि गरेको छ ।
अहिलेको दुनियाँमा निमेषभरमै सूचना र समाचारले विश्व परिक्रमा गर्छन् । यस्तोमा कुनै पनि देशको सरकार सूचना र सूचनाका पहरेदारलाई बाहिर राखेर एक्लै अघि बढ्न सक्ने कुरै भएन । त्यसैले प्रधानमन्त्री वालेन्द्र शाहले भारतको राजकीय भ्रमणमा नेपाली पत्रकारलाई अभिन्न अङ्गका रूपमा स्वीकार गर्नुभयो । भारतसँग जति पनि विषयमा छलफल र सम्झौता हुन्छन्, ती देश र जनताको हितमा हुन्छन् भन्ने विषयमा सरकार स्पष्ट थियो ।
त्यसैले लुकाउनेभन्दा खुलस्त उजागर गर्नु सरकार र जनता दुवैका लागि हितकर हुने सोच सरकारले अघि सार्दै भ्रमणमा पत्रकारका लागि बलियो स्थान दिने कसरत अघि सार्यो । छिमेकी र विदेशमा हुने उच्चस्तरीय भ्रमण आफैँमा निकै संवेदनशील मामिला मानिन्छ । नेतृत्वसहित प्रतिनिधिमण्डलको उच्च सुरक्षा र शिष्टाचारको गह्रुँगो पहल यस्ता भ्रमणमा रहने गर्छ ।
अहिलेको युग सूचनाको युग हो । सूचना र तथ्य नै अमूल्य सम्पत्ति हो भन्ने मान्यतासँगै उच्च प्रविधि र सामाजिक सञ्जालमार्फत एक निमेषमा विश्वको एक कुनाबाट अर्को कुनासम्म सूचना पुगिरहेको छ ।
अझ राम्रो समन्वय भएको खण्डमा सूचनाले सरकार र जनताबीच बलियो सेतुको काम गर्छ । सूचनाको हकको यही आधारमा विभिन्न मुलुकका सरकारले स्वतःस्फूर्त रूपमा सूचना प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।
सार्वजनिक सरोकारका मुद्दामा सरकारले सूचना लुकाउनेभन्दा पनि बढीभन्दा बढी पारदर्शिता कायम गर्दै जनताको मतमा अघि बढ्नुपर्छ भन्ने पदचापलाई प्रधानमन्त्री शाहको भ्रमणमा सरकारले पछ्यायो ।
विगतका सरकारका विदेश भ्रमणमा एकाध सरकारी सञ्चारमाध्यमका पहुँचवाला पत्रकारले मात्र सहभागिता जनाउन पाएका अत्यधिक उदाहरण छन् । त्यसमा पनि काम गर्ने र गरिरहेका भन्दा राजनीतिक दल र सरकारको नेतृत्वको नजिकका पत्रकारको हालीमुहाली विदेश भ्रमणहरूमा देखिँदै आएको थियो ।
यस पटक सरकारले सरकारी सञ्चारमाध्यम र निजी मिडियामा सक्रिय पत्रकारलाई भ्रमणमा सरिक गराउने नीति लियो । जसअनुसार सबै मिडियाका पत्रकारलाई प्रधानमन्त्री शाहको भारत भ्रमणको समाचार सङ्कलनका लागि अवसर दिलाउने पहल सुरु भयो ।
उक्त कामको सुरुवात सरकारी सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारको छनोटबाट भयो । कसले कसरी र कुन विषयमा लेखिरहेको छ भनेर हरेक पत्रकारको लेखनीको अध्ययन प्रधानमन्त्री कार्यालयले गर्यो । जसका आधारमा तीन जना पत्रकार छनोटमा परे ।
निजी सञ्चारमाध्यमका पत्रकारका हकमा पनि छापा, अनलाइन र अन्य डिजिटल सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारसँग समन्वय अघि बढ्यो । त्यसका लागि प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयसँग मिलेर काम थाल्यो । विगतमा समन्वय नहुँदा परराष्ट्र तथा अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउने पत्रकार आफ्नै खर्चमा जान चाहे पनि त्यो हुन सकेको थिएन ।
यस पटक एक–दुई हुँदै भारत गएर समाचार सङ्कलन गर्न चाहने पत्रकारको सङ्ख्या ३० भन्दा माथि पुग्यो । पहिले दश जनाजति मात्र लैजान सकिन्छ भन्ने अनुमान गरिएको थियो । तर, राम्रो समन्वय भइरहेको खबर फैलिएपछि सङ्ख्या बढ्न थाल्यो । अब कम्तीमा पनि २९ जना लैजानैपर्ने अवस्थामा सरकार पुग्यो ।
परराष्ट्र मन्त्रालयमा यति धेरै पत्रकार लैजान सकिन्छ कि सकिँदैन वा भोलि व्यवस्थापनमा अप्ठ्यारो पो पर्ने हो कि भन्ने दैनिकजसो छलफल चल्यो । प्रधानमन्त्री शाहको नेपाली प्रतिनिधिमण्डलकी सदस्य तथा प्रेस तथा अनुसन्धान विज्ञ दीप दाहालले पत्रकारसँगको समन्वयलाई जोड दिनुभएपछि मन्त्रालयले पनि स्वीकार गर्यो ।
प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू भारत भ्रमणको एजेन्डा, शिष्टाचार व्यवस्थापन तथा प्रधानमन्त्री शाहको सम्बोधनलाई सुव्यवस्थित गर्न अर्कोतर्फ कडा परिश्रम गर्दै हुनुहुन्थ्यो । त्योसँगै पत्रकारको समन्वय गर्न सिधै दिल्लीसँग जोडिँदै प्रेस विज्ञ दाहालले सहजीकरणमा जुट्नुभयो ।
जानेहरूको सूचीकरण, पासपोर्ट बनाउने प्रक्रिया, दिल्ली उड्ने विमानको अद्यावधिक जानकारीसँगै दिल्लीमा हुनुपर्ने समन्वयका लागि परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र नेपालस्थित भारतको दूतावाससँग सिधा सम्पर्कमा रहेर पत्रकारलाई बढीभन्दा बढी सहज बनाउन लाग्नुभयो ।
काम गर्न आवश्यक इन्टरनेट सुविधाका लागि भारतको सिम, भ्रमणका लागि जम्मा हुने र समन्वय गर्न दूतावासमा चिया–खाजासहितको मिडिया सेन्टरको स्थापना, भ्रमणको समाचार सङ्कलन गर्न राष्ट्रपति कार्यालय, हैदरावाद हाउस लगायतमा प्रवेश पाउने पत्रकार पास बनाउने र आवतजावतका लागि दुई वटा छुट्टै ठूला गाडीको व्यवस्थापनका मामिलामा दाहालको बलियो पहल देखियो ।
त्यतिमात्र होइन, पत्रकारले बोक्ने क्यामरा, मोबाइल आदिले अध्यागमनमा समस्या नल्याओस् भनेर पहिल्यै छुट्टाछुट्टै फाराम भराइयो । दाहालले सुनाउनुभयो, “प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमण अनि यति धेरै पत्रकारको व्यवस्थापन सहज थिएन, तर चुनौतीकै समयमा हो मिडिया व्यवस्थापन देखिने । त्यही प्रयत्न गरिएको हो, जुन सफल भयो ।”
राष्ट्रपति भवनमा सम्मान गारत ग्रहणको कार्यक्रम, दुई देशका प्रधानमन्त्रीको उच्चस्तरीय भेटवार्ता, राजघाटमा माल्यार्पण वा भारतका राष्ट्रपतिसँगको शिष्टाचार भेटमा को–को, कहाँ र कसरी जाने भनेर मिडिया गाइडलाइन उहाँले बनाउनुभयो । व्यावहारिक अनुशासन, पोसाक तथा सुरक्षा शिष्टाचारको पालनामा कडाइ गरियो ।
कुनै पनि प्रकारको गुनासो नआओस् र नेपालको छवि पनि नधमिलियोस् भन्नेमा भ्रमण अवधिभर पनि दाहाल सबै पत्रकारसँग सम्पर्कमा रहनुभयो । पासपोर्ट बनाउने, विमानस्थलमा लिन जानेदेखि समाचार सङ्कलन गरेर भ्रमण सकेपछि फेरि विमानस्थलसम्म नेपाली पत्रकारलाई सुरक्षित छाडेर नेपाल फर्कने वातावरण सुनिश्चित गरियो ।
दाहालले अनुभव सुनाउनुभयो, “परिणाम के हुन्छ भन्दा पनि आफूले गरेको काम राम्रो र स्पष्ट हुनुपर्छ भन्ने मेरो जोड थियो, जोखिम नलिएसम्म त्यो पूरा गर्ने बल पनि त आउँदैन, त्यही गरेको हुँ ।”
भ्रमण दलमा यसरी सामूहिक रूपमा आफ्ना साथीहरूसँग सहभागी हुन पाउँदाको खुसी नयाँ पत्रिकाका पत्रकार पर्शुराम पोखरेलले प्रधानमन्त्री कार्यालय र संयोजक दाहाललाई प्रत्यक्ष धन्यवाद दिएर प्रकट गर्नुभयो ।
उहाँले जस्तै कान्तिपुरका अनिल गिरी, नेपाल न्युज एजेन्सीका सविन धमला, अन्नपूर्ण पोस्टकी राधा खनाल लगायतले पनि गजबको समन्वयको मुक्तकण्ठले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री शाहको मङ्सिर ६ र ७ गतेको उच्चस्तरीय भ्रमणले मनमालिन्यमा रुमल्लिरहेको दुई देशबीचको सम्बन्धलाई गहकिलो विश्वासको जगमा बसाल्न सफल भयो । आपसी सहकार्यको संयुक्त दूरदृष्टि दस्तावेज (ज्वाइन्ट भिजन डकुमेन्ट) सँगै अन्य सम्झौता र समझदारीमार्फत दुई देशको भविष्यको समृद्धिलाई उचाइ दियो ।
त्योसँगै प्रधानमन्त्रीको विदेश भ्रमणमा नेपालबाट पहिलोपटक ३५ भन्दा बढी पत्रकार र सञ्चारकर्मीले सामूहिक सहभागिता जनाएको ऐतिहासिक रेकर्ड स्थापित गर्न नेपाल सरकार सफल बन्यो ।