विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१०, खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलविरुद्ध सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सामग्रीप्रति विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीले आपत्ति जनाएका छन् ।
मङ्सिर ३ गते रुद्र पाण्डे नामको फेसबुक पेजबाट विद्यालयका एक शिक्षकको गुनासो भन्दै सार्वजनिक गरिएको सामग्रीप्रति विद्यालय परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
शिक्षक तथा कर्मचारीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा विद्यालयको सेवा–सुविधा, तलब, बोनस तथा अन्य कल्याणकारी सुविधा नियमानुसार उपलब्ध हुँदै आएको उल्लेख गरिएको छ । निजी संस्थाले आफ्नो क्षमता र योजनाअनुसार कार्यविधि तथा सेवा–सुविधाका नियम निर्धारण गर्ने र नियुक्तिका क्रममा नै छलफल तथा सहमति हुने भएकाले आफूहरू सन्तुष्ट रहेको विज्ञप्तिमा जनाइएको छ ।विद्यालयमा १० वर्षभन्दा लामो समयदेखि निरन्तर कार्यरत दर्जनौँ शिक्षक तथा कर्मचारी रहेको र कुनै समस्या वा गुनासो राख्दा विद्यालय सञ्चालक सधैँ सकारात्मक तथा सहयोगी रहँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जालमा अमुक व्यक्तिको हवाला दिएर सार्वजनिक गरिएको सामग्रीमा विद्यालयमा कार्यरत कुनै पनि शिक्षक तथा कर्मचारीको संलग्नता नरहेको दाबी गर्दै संस्थालाई कमजोर बनाउने उद्देश्यले बाहिरी चलखेल भएको हुन सक्ने आशङ्का व्यक्त गरिएको छ ।
यसैबीच, विद्यालयका प्रिन्सिपलले पनि छुट्टै विज्ञप्ति जारी गर्दै विद्यालयको वास्तविक अवस्था, गतिविधि तथा उपलब्धिबारे यथार्थ जानकारी नलिई अपुष्ट सूचना र कपोलकल्पित विषयका आधारमा प्रतिष्ठामा आँच पुग्ने गरी प्रचार गरिनु दुःखद भएको बताएका छन् ।
यस्ता गतिविधिले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा समुदायमा अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।विद्यालय परिवार सेवा–सुविधा र शिक्षक–कर्मचारीको वृत्तिविकासप्रति सधैँ संवेदनशील रहेको दाबी गर्दै गलत प्रचारको विपक्षमा उभिएर शतप्रतिशत शिक्षक तथा कर्मचारीले व्यक्त गरेको सहमति, सन्तुष्टि र ऐक्यबद्धताप्रति प्रिन्सिपलले सम्मान व्यक्त गरेका छन् ।