काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती खडा भइरहेको बताएका छन्।
अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका निकाय र कानुनको अवज्ञा गर्ने प्रवृत्तिले मुलुकलाई पछाडि धकेलिरहेको बताए।
उनले मानव अधिकार उल्लङ्घन, हिंसा र अराजक गतिविधिलाई कुनै पनि बहानामा स्वीकार गर्न नसकिने उल्लेख गर्दै देशमा आतंक र अराजकताको वातावरण सिर्जना भएको दाबी गरे। ‘देशमा आतंक र अराजकताको वातावरण सिर्जना भएको छ। यही आतंकको राज चल्न सक्दैन,’ ओलीले भने।
पछिल्लो राजनीतिक परिस्थितिका कारण पार्टी र आन्दोलन कमजोर देखिए पनि एमाले पुनः सशक्त भएर अघि बढ्ने उनले दाबी गरे। पार्टीका नेता तथा कार्यकर्तालाई आत्मविश्वास र दृढ मनोबलका साथ अघि बढ्न आग्रह गर्दै उनले आवश्यक पर्दा आन्दोलनका लागि तयार रहन निर्देशन दिए। । ओलीले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै सुरु नहुने भन्दै परिस्थिति अनुकूल हुँदा तत्कालै आन्दोलन उठ्न सक्ने बताए।
‘१७ महिनामै ठूलो विद्रोहबाट सत्ता परिवर्तन भएको इतिहास पनि छ। कहिले विद्रोहबाट, कहिले निर्वाचनबाट त कहिले अन्य राजनीतिक घटनाक्रमबाट सत्ता र व्यवस्थामा उलटफेर हुने रहेछ भन्ने हामीले देखेका छौँ,’ उनले भने।
उनले पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्मका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आवश्यक परिस्थितिमा आन्दोलनमा सहभागी हुन तयार रहनसमेत आग्रह गरे।