एउटै बस्ती र टोलका नागरिकमाथि परेको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने रास्वपा सभापति लामिछानेले उल्लेख गरेका छन् ।
काठमाडौँ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाका घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले छठ मनाउन घर फर्किंदै गरेका नागरिकहरूले दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन्। एउटै बस्ती र टोलका नागरिकमाथि परेको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै उनले दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।
लामिछानेले घाइतेहरूको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढी नजिक बिहीबार बिहान करिब ५:४५ बजे दुर्घटनामा परेको थियो । सडकबाट करिब ७ सय मिटर तल खस्दा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका हुन् । उनीहरु ललितपुरको टीकाथलीबाट छठ मनाउन गाडी रिजर्भ गरेर गाउँ फर्कंदै गरेका थिए ।