दोस्रो पथरीशनिश्चरे गोल्डकप कात्तिक १५ देखि सुरु हुने
पथरी, मोरङ –
पथरीशनिश्चरेमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्रस्तावित पथरी रंगशालामा आयोजना हुने भएको छ।
पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिएको हो।
क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ५ लाख रुपैयाँ र दोस्रो पुरस्कार २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। प्रतियोगिताको अनुमानित कुल लागत ६० लाख रुपैयाँ रहेको र त्यसअनुसार २० लाख रुपैयाँ मुख्य प्रायोजक तथा ५ लाख रुपैयाँ सह–प्रायोजकबाट संकलन गर्ने लक्ष्य लिइएको जानकारी दिइयो।
कार्यक्रममा क्लबका मुख्य प्रशिक्षक अर्जुन बस्नेत र प्रतियोगिताको पहिलो संस्करणका संयोजक जितन राईले दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने तयारी भइरहेको जानकारी गराए। संयोजक राईका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय युवा प्रतिभा र अन्तर्राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा गराउने रहेको छ।
साथै, क्लबले पहिलो संस्करणपछि भएको आम्दानी–खर्च विवरण पनि सार्वजनिक गरेको छ। अध्यक्ष विकद्वारा प्रस्तुत विवरणअनुसार, पहिलो संस्करणपछिको कुल आम्दानी १७ लाख ८५ हजार ८४० रुपैयाँ, कुल खर्च १४ लाख ८१ हजार १५५ रुपैयाँ र हालसम्म बैंकमा ३ लाख ४ हजार ६८५ रुपैयाँ मौज्दात रहेको छ।