पथरी गोल्डकपमा पुलिसको विजय, भूमि समस्या समाधानमा पहल गर्ने सांसद कार्कीको प्रतिबद्धता

भोजराज घिमिरे शनिबार, आश्विन २४, २०८३

पथरी, असोज २४ गते। मोरङको पथरी शनिश्चरे नगरपालिका–१, जाँते मोडस्थित प्रस्तावित रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उपाधि नेपाल पुलिस क्लब काठमाडौंले जितेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा झापा–११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा नेपाल पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै पाँच गोल गर्‍यो भने झापा–११ चार गोलमा सीमित रह्यो। जितसँगै पुलिसले उपाधि उचाल्दा झापा–११ उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
उपाधि जितेको नेपाल पुलिस क्लबले नगद ६ लाख रुपैयाँसहित ट्रफी र पदक प्राप्त गरेको छ। उपविजेता झापा–११ ले नगद ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका सुजन मगर पुलामी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। पुलिसकै अमित टमाटा उत्कृष्ट गोलरक्षक बने भने पथरी–११ एफसीका विशाल पुलामी मगरले उदाउँदो खेलाडीको उपाधि प्राप्त गरे। झापा–११ का प्रताप राई प्रतियोगिताको सर्वाधिक गोलकर्ता घोषित भए।
भूमि समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको छु : सांसद कार्की
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले पथरी शनिश्चरेको प्रस्तावित रंगशाला निर्माणसँग जोडिएको भूमि समस्याको समाधानका लागि आफू निरन्तर प्रयासरत रहेको बताउनुभयो।
उहाँले नेपाल सरकारले भूमिसम्बन्धी ऐन जारी गरिसकेको र त्यसको प्रमाणीकरण प्रक्रियाबारे जानकारी दिँदै भूमिसम्बन्धी समस्याको समाधानका लागि जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो।
यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले जाँते मोडस्थित प्रस्तावित रंगशाला वन क्षेत्रमा रहेकाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया सहज बनाएर भौतिक संरचना निर्माण गर्ने वातावरण मिलाइदिन सांसद कार्कीसँग आग्रह गर्नुभएको थियो।
नगर प्रमुख तुम्बापोले नजिकै वन कार्यालय तथा इलाका प्रहरी कार्यालयका संरचनासमेत वन क्षेत्रमा रहेको सन्दर्भ उल्लेख गर्दै प्रस्तावित रंगशाला निर्माणका लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभयो। रंगशाला निर्माणले स्थानीय खेलकुदको विकाससँगै पथरी शनिश्चरेको पहिचान विस्तारमा समेत योगदान पुर्‍याउने उहाँको भनाइ थियो।
नगर प्रमुख तुम्बापोले अनुशासित रूपमा प्रतियोगिता सम्पन्न गर्दै उपाधि जित्ने नेपाल पुलिस क्लब र उपविजेता झापा–११ दुवै टोलीलाई बधाई दिनुभयो। उहाँले गोल्डकपले पथरी शनिश्चरेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी वर्षहरूमा पनि प्रतियोगितालाई निरन्तरता दिन नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खेलकुदले मानसिक, शारीरिक र सामाजिक विकासमा योगदान पुर्‍याउँछ
कार्यक्रमका प्रमुख अतिथि सांसद कार्कीले खेलकुदलाई देशको विकासको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभयो। उहाँले खेलकुदले व्यक्तिको मानसिक, शारीरिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउँदै विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भसमेत उल्लेख गर्नुभयो।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्बापो, गृह मन्त्रालयको सचिवालयका प्रमुख जेम्स कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि सांसद कार्की, नगर प्रमुख तुम्बापो र आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो।
तेस्रो संस्करणको पथरी शनिश्चरे गोल्डकपले स्थानीय खेलकुदको विकास, प्रतिभाशाली खेलाडीको पहिचान र नगरको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342