विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको आयोजनामा झोराहाट स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका विद्यार्थी तथा सम्बन्धित सरोकारवालालाई विद्युतको सुरक्षित प्रयोग, विद्युतीय दुर्घटना न्यूनीकरण तथा सावधानी अपनाउने उपायबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख जितेन्द्र कुमार झाले विद्युत आधुनिक जीवनको अत्यावश्यक साधन भए पनि यसको प्रयोगमा सामान्य असावधानीले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई विद्युतका तार, पोल, ट्रान्सफर्मर तथा विद्युतीय उपकरणसँग अनावश्यक सम्पर्क नगर्न र विद्युतसम्बन्धी जोखिम देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।
प्रमुख अतिथि झाले भन्नुभयो, “विद्युतको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान विद्यार्थी तहदेखि नै विकास गर्न सकेमा विद्युतीय दुर्घटना न्यूनीकरण गर्न ठूलो सहयोग पुग्छ। आफू सुरक्षित हुने मात्र होइन, परिवार र समुदायलाई पनि विद्युतीय सुरक्षाबारे सचेत गराउनु विद्यार्थीको महत्वपूर्ण भूमिका हो।” उहाँले विद्युत चुहावट, नाङ्गा तार, भिजेको हातले विद्युतीय उपकरण चलाउने, क्षतिग्रस्त तार तथा उपकरण प्रयोग गर्ने जस्ता कार्यबाट दुर्घटना हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका राम उदगार साहको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा प्रशिक्षकहरू सुवोध ठाकुर, प्रविण पौडेल र राम शंकर यादवले विद्युतीय सुरक्षा, विद्युत उपकरणको सुरक्षित प्रयोग, विद्युत दुर्घटनाबाट बच्ने उपाय तथा दुर्घटना भइहालेमा अपनाउनुपर्ने प्राथमिक सावधानीका विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थी गरी करिब ५० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले विद्युतको सुरक्षित प्रयोग र दुर्घटना न्यूनीकरणसम्बन्धी जानकारी प्राप्त गरेका थिए। त्यसैगरी नेपाल विद्युत प्राधिकरण झोराहाटका इन्चार्ज दिव्य प्रसाद खतिवडाको पनि कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन दिपक नेपालले गर्नुभएको थियो। सहभागीहरूले विद्यालयस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा समुदायमा विद्युतीय सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।