दशैँमा जोगबनी जाने खर्च विराटनगरमै रोक्ने लक्ष्य, ट्रेड फेयरमा १६ करोड ५० लाखको कारोबार अपेक्षा

भोजराज घिमिरे बुधबार, आश्विन २१, २०८३

विराटनगर । दशैँको समयमा सीमावर्ती भारतीय बजार जोगबनीतर्फ जाने उपभोक्ताको खर्च विराटनगरमै रोक्दै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विराट ट्रेड फेयर २०८३ आयोजना हुने भएको छ।
विराट व्यापार संघको आयोजनामा असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनमा सञ्चालन हुने मेलामा करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
मेलामा करिब १३० वटा स्टल रहनेछन्। कोशी प्रदेशका घरेलु तथा साना उद्योगीका लागि करिब ३० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ। स्थानीय उत्पादन, खाद्य सामग्री, विद्युतीय सवारीसाधन, प्रविधि तथा विभिन्न व्यावसायिक सामग्रीलाई मेलामा प्राथमिकता दिइने आयोजकको भनाइ छ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले विराट ट्रेड फेयरलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी विराटनगरको समग्र बजार चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागिएको बताए।
“मेलामा आउने उपभोक्ताको खर्च विराटनगरमै परिचालन होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,” उनले भने, “मेलाका कारण विराटनगरका पसल, होटल, रेस्टुरेन्ट, यातायातलगायत क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरेका छौँ।”
आयोजकका अनुसार मेलामा विद्युतीय सवारीसाधनतर्फ करिब ६ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। खाद्य सामग्रीतर्फ करिब २० लाख रुपैयाँ र अन्य गतिविधिबाट पनि कारोबार हुने अपेक्षा गरिएको छ। समग्रमा मेलाबाट १६ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष कारोबार हुने प्रारम्भिक अनुमान छ।
मेलामा प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ। टिकटलाई उपभोक्तामैत्री बनाउन मनोरञ्जनात्मक कार्यक्रम, आकर्षण तथा बम्पर उपहारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। युवापुस्तालाई लक्षित गरी स्मार्ट सेल्फी जोन तथा प्रविधिमा आधारित गतिविधिसमेत सञ्चालन गरिनेछ।
राष्ट्रिय कलाकारको प्रस्तुति
व्यापारसँगै मनोरञ्जनलाई समेत जोडिएको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ।
आयोजकका अनुसार असोज २३ गते कमल खत्री, २४ गते अस्मिता अधिकारी, २५ गते महेश काफ्ले, २६ गते राजनराज शिवाकोटी, २७ गते अशिष राना, २८ गते एलिना चौहान र २९ गते रचना रिमालले प्रस्तुति दिनेछन्।
त्यसैगरी स्थानीय कलाकार तथा सांगीतिक समूह रितेश निर्वाण, द स्मृति ब्याण्ड, शुभम न्यौपाने, पिङ्क सायाल, प्रशान्त एन्ड ब्याण्ड, लोक भाका बाजा ब्याण्ड र संस्कृति ब्याण्डको प्रस्तुति रहनेछ।
विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक **श्यामलाल पौडेल (भवेष)**ले मेलामा एक लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा गरिएको बताए।
सामाजिक अभियानलाई पनि प्राथमिकता
आयोजकले मेलालाई सामाजिक उत्तरदायित्वसँग समेत जोडेको जनाएको छ। लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउन जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा निःशुल्क स्टल सञ्चालन गरिनेछ। त्यस्तै ‘आँखादान महादान’ अभियानका लागि समेत निःशुल्क स्टल उपलब्ध गराइनेछ।
मेलामा दुग्ध विकास संस्थान (डिडिसी)लाई समेत निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ। उक्त स्टलबाट डिडिसीका उत्पादनमा उपभोक्तालाई छुट उपलब्ध गराइनेछ।
मेलाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ।
८० लाख आम्दानी, ७५ लाख खर्चको अनुमान
आयोजकले मेलाका लागि करिब ७५ लाख रुपैयाँ खर्च हुने र करिब ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। स्टल शुल्क, प्रायोजन, सहयोग तथा टिकट बिक्रीलाई आम्दानीको मुख्य स्रोतका रूपमा लिइएको छ।
विराट व्यापार संघले मेलासँग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबारको व्यवस्थित अभिलेख राख्ने र मेला सम्पन्न भएपछि वास्तविक आय–व्यय विवरण सार्वजनिक गर्ने जनाएको छ।
मेलाका लागि कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, उदय परियोजना, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र मोरङ चेम्बर अफ कमर्सलगायतका संस्थाको सहयोग रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार विराट ट्रेड फेयरको उद्देश्य व्यापारिक गतिविधि बढाउनुका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने र दशैँको समयमा विराटनगरको बजारमा उपभोक्ताको खर्च बढाउने हो। मेलाबाट स्थानीय उद्योगी–व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342