विराटनगर । प्रत्येक वर्षको भाद्र शुक्ल चौथीका दिन चौरचन (चौठ चन्द्र) पर्व आज मनाउदै छ । धुमधामका साथ तराई–मधेसको मिथिला क्षेत्रमा मनाइने खासगरी मधेसी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक व्रत बसेर मनाउने गरिएको छ ।
यो पर्वले विभिन्न खालका पुत्र लाभ र धन तथा पापबाट मुक्ति हुने जनविश्वास छ । सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली व्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिली परम्परा छ । दिनभर व्रत बसेर साँझ आँगनमा पिठार (चामलको पिठो) अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राख्दै त्यसमा पकवान, मिठाई लगायतका पर्सादहरु राख्ने गरिन्छ ।
चौठचन पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् । मुकुटसहित चन्द्रमातिर बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने परम्परा रहेको छ ।
नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्री राखेर पूजा गरिन्छ । पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल पकवानयुक्त डाली र दहीको छाली अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राख्ने परम्परा छ । एक–एक डाली, दही, केराको घरी उठाएर मन्त्र पढ्दै प्रत्येक व्यक्तिले हातमा फललिएर चन्द्रमाको दर्शन गरी अशिर्वाद लिने चलन छ । चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुन्छ ।
ईसं १६०० मा मिथिलाका राजा हेमाङ्गद ठाकुरले चौरचनको प्रचार सम्पूर्ण मिथिलावासीको घर–घरमा गराएपछि यसको रौनक बढेको मैथली जानकारहरु बताउँछन् ।