विराटनगर, मोरङ — डान इङ्गलिस मिडियम सेकेन्डरी स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न विराटनगर–१ स्थित डान इङ्गलिस मिडियम सेकेन्डरी स्कुलले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। । कार्यक्रमको उद्घाटन प्रमुख अथिती प्याब्सन मोरङ का अध्यक्ष जगत बहादुर बस्नेत ले गरेका थिए। उद्घाटन मन्तव्यमा उनले समयअनुसारको गुणस्तरीय शिक्षाका लागि प्रविधिसँग जोडिएको शिक्षण आवश्यक रहेको बताए। “विद्यार्थीलाई दक्ष र प्रतिस्पर्धी नागरिक बनाउन शिक्षालाई प्रविधिमैत्री बनाउनु जरुरी छ,” उनले भने।
त्यसैगरी अथिती प्याब्सन विराटनगर का अध्यक्ष अर्जुन श्रेष्ठ लगायत अतिथिहरूले विद्यालयको २१ वर्षे शैक्षिक यात्राको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
विद्यालय परिसरमा आयोजित विशेष समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको ‘जेन्जी आन्दोलन’को पीडामा आधारित मर्मस्पर्शी नाटक मुख्य आकर्षण बनेको थियो।
भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलन र त्यसक्रममा घटेका हिंसात्मक घटनालाई केन्द्रमा राखेर तयार पारिएको उक्त नाटकले वर्तमान समसामयिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरेको थियो। विद्यार्थीहरूको उत्कृष्ट अभिनय, भावपूर्ण संवाद र यथार्थपरक प्रस्तुतीले कार्यक्रमस्थल केही समय सन्नाटामय बनेको थियो। धेरै अभिभावकहरू भावुक देखिन्थे, कतिपयका आँखा रसाएका थिए।
कार्यक्रममा उपस्थित विद्यालयकी संस्थापक सदस्य इन्दिरा गिरि भावुक हुँदै भनिन्, “विद्यार्थीहरूले देखाएको अभिनय अत्यन्तै उत्कृष्ट र मार्मिक थियो। भदौ २३ र २४ गतेका घटनाहरू फेरि सम्झिएँ, म धेरै भावुक भएँ।”
‘संस्कारसहितको शिक्षा’ हाम्रो प्राथमिकता : प्रिन्सिपल थापा
विद्यालयका प्रिन्सिपल हिरा थापा मगर ले विद्यालय केवल किताबी ज्ञानमा सीमित नरही विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रहेको बताए।
“हामी विद्यार्थीको चौतर्फी विकासका लागि संस्कारयुक्त शिक्षामा जोड दिन्छौँ। घरबाट प्राप्त संस्कार र विद्यालयबाट प्रदान गरिने ज्ञान तथा सीपको समन्वयले नै उज्ज्वल भविष्य निर्माण हुन्छ,” उनले भने।
उनले अभिभावकहरू बालबालिकाका पहिलो शिक्षक भएको उल्लेख गर्दै विद्यालय र अभिभावकबीचको सहकार्य, समझदारी र विश्वास नै सफल शिक्षाको आधार भएको धारणा राखे ।
विविध सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरण
नाटकसँगै विद्यार्थीहरूले विभिन्न विधाका उत्कृष्ट नृत्य, सुमधुर गायन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए। कार्यक्रममा विद्यालयले सञ्चालन गरेका आन्तरिक परीक्षा तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो।
समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, विभिन्न विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरू, अभिभावक, शुभचिन्तक तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।।विद्यालय प्रशासनले २१ वर्षको सफल यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रमको अन्त्यमा प्रिन्सिपल थापाले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सदाचारमार्फत उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर रहन प्रेरणा दिँदै अभिभावक दिवसको हार्दिक शुभकामना व्यक्त गरे । समारोहमा टिनपैनी–२, विराटनगर स्थित सामुदायिक प्रहरी सेवा केन्द्र, टिनपैनी–२ की अध्यक्ष मीना जोशी, उद्योगपति तथा समाजसेवी चम्पालाल राठी, सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर का उपाध्यक्ष (पूर्व SP) बिद्यानन्द माझी तथा कोषाध्यक्ष सन्तोष वाहेती को पनि उपस्थिति रहेको थियो।
सांगीतिक क्षेत्रमा वरिष्ठ गायक रमा मण्डल, राष्ट्रिय गायिका मीना नेपाली तथा कलाकार मिस सङ्गीता यादवको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमका अध्यक्ष संस्थापक प्रिन्सिपल तथा PABSON Morang का सदस्य हिरा बहादुर मगर रहेका थिए भने सभापतित्व विद्यालयकी अध्यक्ष सूर्या कुमारी रिजालले गरेकी थिइन्।