विराटनगर । सुनसरीको देवानगगञ्ज, बर्जु सहित स्थानीय तहमा नेपाल शिक्षक सङ्घले तीन घण्टा धर्ना दिएको छ । महासङ्घमा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएका हुन् । धर्ना दिए पनि विद्यालय भने सञ्चालनमा रहेको नेपाल शिक्षक सङ्घ देवानगञ्जका अध्यक्ष अनिल मेहताले जानकारी दिनुभयो ।
विगतमा शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच भएका ५१ र ३० बुँदे सहमति कार्यनयन र नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधनका लागि दबाब दिन धर्ना दिइएको भोक्राहा नरसिंह सङ्घका अध्यक्ष पवन मेहताले जानकारी दिनुभयो । धर्नालगत्तै महासङ्घले मन्त्रालयसँग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको प्रतिलिपि सबै पालिकालाई बुझाएको छ ।
महासङ्घले पहिलो चरणको विरोधका कार्यक्रमअन्तर्गत साउन ३० गते सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा सम्बन्धित जिल्लाका शिक्षक कर्मचारीको उपस्थितिमा जिल्ला समन्वय एकाइमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
त्यस्तै, साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना, भदौ १ गते सङ्घीय सांसदहरुलाई जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्ने कार्यक्रम तय गरेको छ । पहिलो चरणका कार्यक्रमबाट मागको सुनुवाइ नभए दोस्रो चरणमा देशभरिका शिक्षक र कर्मचारीहरुको उपस्थितिमा काठमाडौंमा लगातार विरोध प्रदर्शन गर्ने नेपाल शिक्षक महासङ्घ बर्जुका अध्यक्ष बिजय कुमार चौत्ररीले जानकारी दिनुभयो ।
विशेष शिक्षा परिषद्को दरबन्दीमा कार्यरत शिक्षकहरुको आफ्ना लागि परीक्षासम्बन्धी विशेष व्यवस्था गरी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने प्रबन्ध गर्नुपर्ने महासङ्घको माग छ । त्यस्तै, २०७२ असोज ३ गते पछिका करार शिक्षकको पनि त्यसअघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुल्ला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने शिक्षकहरुको माग छ ।