विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको सार्वजनिक सुनुवाई प्रति युवाहरुले आपति जनाएको छ। यहीं श्रावन १९ गते शुक्रवार देवानगञ्ज गाउँपालिकाले गर्न गई रहेको सार्वजनिक सुनुवाईको समय र आचार संहिता प्रति युवाहरुले आपति जनाउदै गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ।
गाउँपालिकाले आउँदो श्रावण १९ गते गर्न लागिएको “सार्वजनिक सुनवाई कार्यक्रम” को बारेमा जारी गरिएको सुचनामा उल्लेख भएको समय, आचार संहिता र सुचना लुकाएको कुरा प्रति असन्तुस्टी जनाउँदै विकास वादी युवा अभियानले सोमबार प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।
सार्वजनिक सुनुवाइ जनताको अदालत हो, जसले सुशासनको मान्यतालाई अंगिकार गरेको हुन्छ । यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सेवाग्राहीबीच सेवा–प्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समीक्षा गरी मूल्यांकन, सुझाब र पृष्ठपोषण प्रदान गरिन्छ । नियमित र खुला अर्न्तक्रियाका माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टि प्रदान गरी विश्वासको वातावरण कायम गर्नु यसको उद्देश्य हो । सूचनाको हकसम्बन्धी ऐन तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले पनि सेवाप्रति सेवाग्राहीको सुझाब तथा सुनुवाइलाई जोड दिएका छन् । सामान्यतया सार्वजनिक निकायले वर्षको एकपटक सार्वजनिक सुनुवाइ गर्छन् । यसबाट सेवाग्राहीका गुनासा सेवा–प्रदायकले सुनी पुनः नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्छन् । तर यि सब कुरालाई पालिकाले छोडी व्यक्तिको अभिव्यक्तिको अधिकारलाई कुण्ठित गर्दै पालिकाले सार्वजनिक सुनुवाईको आचार संहिता लागु गर्न खोजिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको अभियानका संयोजक पप्पु कुमार मेहताले बताउनुभयो ।
नौ बुंदे मांगहरु
१. कार्यक्रम संचालनको समय विहान १० बजेदेखी हुनुपर्ने ।
२. वडा स्तरीय सार्वजनिक सुनुवाई प्रतिवेदन समेत सार्वजनिक गर्नुपर्ने ।
३. गुनासो अभिलेखीकरणको छुट्टै व्यवस्था हुनुपर्ने।
४. आचार संहिता बुंदा ७,८,र ११ परिवर्तन गरी कार्यक्रम खुला रूपमा हुनुपर्ने ।
५. गुनासो संकलन र त्यसको सम्बोधनका लागि अन्य माध्यम समेत व्यवस्था गर्नुपर्ने ।
६. सहजकर्ताको अनुभव र योग्यता कार्यक्रम सुरु हुनु भन्दा अगावै स्पष्ट गर्नुपर्ने ।
७. मिति २०८०/०४/०५ को सूचनामा यो कार्यक्रम गा. पा. आफैले गर्ने भनिए पनि मिति २०८०/०४/१४ को सुचना अनुसार अन्य संस्थालाई जिम्मेवारी दिनुको कारण स्पष्ट गर्नुपर्ने ।
८.अगामी दिन हुने कुनै पनि कार्यक्रम सो कार्यक्रमको मुल्य मान्यता र सिद्धान्त बमोजिम हुनुपर्ने ।
९. यस सुनुवाई कार्यक्रम बजेट र तालिका समेत स्पष्ट गर्नुपर्ने।
देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम राज पौडेलले उक्त ध्यानकर्षण पत्रको बुंदालाई सकारात्मक रुपमा लिदै यस विषयमा अलिबिलम छलफल गरि सच्याउने बताउनुभयो। यता युवाहरुले देवानगञ्ज गाउँपालिकाले समय र आचार संहिता सच्याएन भने सार्वजनिक सुनुवाई प्रतिकार गर्न हामी जुनसुकै कदम चल्न सक्ने बताउनुभयो।