विराटनगर । इटहरीका एक निजी विद्यालयमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थीको मृत्यु भएको घटनापछि इटहरी उपमहानगरपालिकाले विद्यालयको छात्रावास अनुगमन गरेको छ ।
इटहरीको सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय जेनीस श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले इटहरी क्षेत्रका निजी तथा सामूदायिक विद्यालयको छात्रावास अनुगमन गरेको हो ।
इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलको नेतृत्व मंगलबार पहिलो चरणमा होस्टलमै विद्यार्थीको मृत्यु भएको सेकेन्डरी माध्यमिक विद्यालयसहित पिसजोन आवासीय माध्यमिक विद्यालय, मोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, ग्रिनपिस माध्यमिक विद्यालय र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा सेकेन्डरी माध्यमिक विद्यालयको किचन र छात्रावास अनुगमन गरिएको थियो ।
जसमा किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था रहेको पाइयो भने होस्टेल पनि आवश्यक मापदण्ड पूरा नगरिकन सञ्चालन गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । उहाँले मापदण्ड पूरा नगरिकन सञ्चालन गरिएको सेकेन्डरी माध्यमिक विद्यालयको होस्टेल रुममा उपमहानगरपालिकाले तालाबन्दी गरेको जानकारी दिनुभयो ।
पौडेलका अनुसार सेकेन्डरी माध्यमिक विद्यालयले अब मापदण्ड पूरा गरेपछि मात्रै होस्टेल सञ्चालन गर्न दिइनेछ । सेकेन्डरी माध्यमिक विद्यालयमा मृत्यु भएका जेनीस श्रेष्ठको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आफन्तले शव बुझेर मंगलबार दाहसंस्कार गरेका छन् ।
यसैबीच, नगरप्रमुख पौडेल नेतृत्वको टोलीले पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको छात्रावास अनुगमन गर्दा केही सुधार गर्नुपर्ने विद्यालयमा सुझाव समेत दिइयो ।
अनुगमनका क्रममा सुधार गर्नुपर्ने पक्ष उपमहानगरपालिकाको शिक्षा शाखासँग समन्वय गर्ने बताइएको छ । यसैबीच पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई होस्टलमा राख्न नपाइने नियम समेत ल्याएको उपमहानगरले जनाएको छ ।
अनुगमनमा प्रमुख पौडेल, उपप्रमुख संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, शिक्षा शाखाका फाल्गुनी काफ्ले लगायतका टोलीले विद्यालयहरूमा अनुगमन गर्नुभएको थियो ।