भारतको ग्वालियरमा तीर्थयात्रीमाथि अनियन्त्रित ट्रकको कहर, १२ जनाको मृत्यु, २७ घाइते
ग्वालियर । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो। भारी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको उक्त सडकमा ट्रकले प्रहरीका अवरोधसमेत तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएको थियो।
तीव्र गतिमा अनियन्त्रित भएको ट्रकले मानिसहरूलाई ठक्कर दिएपछि मन्दिरको बाहिरी पर्खाल र प्रवेशद्वारमा समेत ठोक्किएको थियो। दुर्घटनामा परी घाइते भएका ३९ जनालाई अस्पताल पुर्याइएकोमा १२ जनाको मृत्यु भएको प्रहरी अधिकारी सिंहले जानकारी दिएका छन्। घटनामा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन्।
ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानले दुर्घटनालगत्तै उद्धारका लागि एम्बुलेन्स तथा अन्य सवारीसाधन परिचालन गरिएको बताएकी छन्। घाइतेहरूको उपचार भइरहेको र गम्भीर अवस्थाका बिरामीमाथि विशेष निगरानी राखिएको अधिकारीहरूले जनाएका छन्।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने भएको छ। नवरात्रका अवसरमा सुरक्षा व्यवस्थाका लागि राखिएका प्रहरी अवरोध र जाँच चौकी पार गरेर ट्रक प्रतिबन्धित सडकमा कसरी प्रवेश गर्यो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जिल्ला अधिकारी चौहानले बताएकी छन्।
एक प्रत्यक्षदर्शीका अनुसार ट्रकमा क्षमताभन्दा बढी भार लोड गरिएको थियो। अनियन्त्रित ट्रकले पसल तथा सडकमा रहेका मानिसहरूलाई समेत ठक्कर दिएको उनले बताएका छन्। दुर्घटनामा प्रत्यक्षदर्शीका भाइसमेत घाइते भएका छन्।
घटनापछि मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था र भारी सवारीसाधनको आवागमन नियन्त्रणबारे प्रश्न उठेको छ।