पथरी शनिश्चरे समाचारदाता, कार्तिक १ गते।
मोरङको पथरी शनिश्चरेस्थित पञ्चायत माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजको प्रथम साधारण सभाले टिकेन्द्र पौडेल (दिनेश) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। साधारण सभाले विद्यालयका पूर्वविद्यार्थी, राष्ट्रिय खेलाडी, शिक्षक, पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको छ।

साधारण सभाबाट समाजको उपाध्यक्षमा सन्तोष ढुङ्गेल, सचिवमा शरदचन्द्र दाहाल, सहसचिवमा सुरेन्द्र तिम्सिना र कोषाध्यक्षमा उमा अधिकारी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा भीष्म न्यौपाने, नैना राई, गंगाराम गिरी, सुवास कार्की, गोपाल काफ्ले र तुलबहादुर दियाली सर्वसम्मत चयन भएका हुन्।
यसअघि पथरी शनिश्चरे नगरपालिका–१ का वडाध्यक्ष भीमकुमार राई समाजको अध्यक्ष रहेका थिए। राईकै सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन विद्यालयका पूर्वप्रधानाध्यापक तथा संविधानसभा सदस्य चण्डीप्रसाद राईले गरेका थिए।
कार्यक्रममा कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिना, विद्यालयका प्रधानाध्यापक टीका घिमिरे र निवर्तमान प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले विद्यालयको शैक्षिक उन्नति, पूर्वविद्यार्थीबीचको एकता र विद्यालयसँगको सम्बन्धलाई थप सुदृढ बनाउन पूर्वविद्यार्थी समाजले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
पूर्वविद्यार्थी समाजद्वारा अग्रज, शिक्षक र खेलाडी सम्मानित
प्रथम साधारण सभाको अवसरमा पूर्वविद्यार्थी समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा कोशी प्रदेशकी सामाजिक विकासमन्त्री तथा पूर्वविद्यार्थी गीता तिम्सिना, पूर्वप्रधानाध्यापकहरू हरि गड्तौला, चण्डीप्रसाद राई र अर्जुन बुढाथोकी रहेका छन्।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू देवराज भण्डारी, आइतकुमारी तुम्बापो र युवराज बास्कोटा, पत्रकार विमला तुम्खेवा तथा गायक महेश बुढाथोकीलाई सम्मान गरिएको थियो।
विद्यालयमा लामो समय शिक्षण सेवामार्फत योगदान पुर्याएका पूर्वशिक्षकहरू बिना राई, बुद्धिनाथ अधिकारी, दिनेश सुवेदी, विष्णुमाया विष्ट, गुरुप्रसाद दाहाल, विष्णुमाया ओडारी भट्टराई र तिला ढुङ्गानालाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
यसैगरी विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका राष्ट्रिय फुटबल खेलाडीहरू दीपक राई र दीपा न्यौपाने तथा पूर्वनेपाल जेसीज अध्यक्ष अशोक शंकरलाई सम्मानपत्र प्रदान गरिएको थियो। पत्रकार विमला तुम्खेवालाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
विद्यालयमा अध्ययन गरेर विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तित्वहरूलाई एउटै मञ्चमा सम्मान गर्दै सम्पन्न साधारण सभाले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउने सन्देश दिएको छ।
पूर्वविद्यार्थी समाजले आगामी दिनमा विद्यालयको शैक्षिक विकास, संस्थागत प्रगति तथा पूर्वविद्यार्थीबीच आपसी सहयोग र सहकार्य विस्तार गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।