याँ दिल्ली : भारतको उत्तर प्रदेशस्थित मेरठको चर्चित ‘नीलो ड्रम’ हत्याकाण्डका मुख्य अभियुक्त मुस्कान रस्तोगी र उनका प्रेमी साहिल शुक्लालाई अदालतले मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ।
मेरठ जिल्ला अदालतका न्यायाधीश अरविन्द कुमार मिश्रको इजलासले पूर्व मर्चेन्ट नेभी अधिकृत सौरभ राजपूतको बीभत्स हत्या अभियोगमा दोषी ठहर गर्दै दुवै जनालाई फाँसीको सजाय सुनाएको हो।
के थियो घटना?
सन् २०२५ को मार्च महिनामा मेरठ निवासी सौरभ राजपूत अचानक बेपत्ता भएका थिए। प्रहरी अनुसन्धानका क्रममा उनको हत्या गरी शवलाई टुक्रा-टुक्रा पारेर प्लास्टिकको नीलो ड्रमभित्र राखि घरभित्रै लुकाइएको अवस्थामा फेला पारिएको थियो।
प्रहरी अनुसन्धान अनुसार, मुस्कान रस्तोगीले प्रेमी साहिल शुक्लासँग मिलेर आफ्ना श्रीमान् सौरभको बीभत्स हत्या गरेकी थिइन्। सौरभ र मुस्कानबीच प्रेम विवाह भएको थियो। तर, पछि मुस्कान साहिलसँग नजिकिएपछि सौरभको हत्या गर्ने षड्यन्त्र रचिएको खुलासा भएको थियो।
जिल्ला अदालतमा १२६ पटकभन्दा बढी सुनुवाइ र २२ जना साक्षीको बयानपछि अदालतले गत ३० सेप्टेम्बरमा दुवै जनालाई दोषी ठहर गरेको थियो। घटनाको प्रकृति र गम्भीरतालाई ध्यानमा राख्दै अदालतले यस अपराधलाई ‘दुर्लभभन्दा दुर्लभ’ श्रेणीमा राखेर मृत्युदण्डको फैसला सुनाएको हो।
यसका साथै अदालतले अभियुक्तहरूलाई क्रमशः ५० हजार र २० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ। फैसला सुनाउने क्रममा अदालतले महाभारतको प्रसङ्ग उल्लेख गर्दै ‘अपराधीलाई अपराध अनुसारको सजाय दिनु नै धर्म हो’ भन्ने टिप्पणी गरेको छ।
सौरभ राजपूत हत्याकाण्डको मुद्दा (ट्रायल) जुलाई २०२५ देखि सुरु भएको थियो। करिब १३ महिनासम्म चलेको अदालती बहसका क्रममा १२६ वटा पेसी र २२ जनाभन्दा बढी साक्षीको बयान दर्ता गरिएको थियो। मेरठ प्रहरीले गत वर्ष मार्च १९ मा मुस्कान र साहिललाई पक्राउ गरी जेल पठाएको थियो। अदालतको फैसलापछि मृतक सौरभका भाइ राहुलले सुरुदेखि नै आफूहरु न्याय पाउनेमा आशावादी रहेको बताएका छन् ।