गण्डकी, २५ असोज । बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोरखाको मनाश्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन् । मनाश्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ ।
विदेशी पर्यटकसहित भरिया, पथप्रदर्शक पनि बीचैमा रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
“मनाश्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्याङ्क लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ ।”