जलवायु परिवर्तनका अभियन्ता अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण मन्त्रीका सल्लाहकार नियुक्त

भोजराज घिमिरे शनिबार, कार्तिक ०१, २०८३

विराटनगर । जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता, जलवायु वित्त तथा हानि र नोक्सानीका क्षेत्रमा लामो समयदेखि क्रियाशील विराटनगरका युवा अभियन्ता अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सल्लाहकारमा नियुक्त भएका छन्।
श्रेष्ठ नेपाल सरकारको विशिष्ट श्रेणीसरहको अवैतनिक सल्लाहकार पदमा नियुक्त भएका हुन्। उनलाई मन्त्रालयका नीतिगत तथा प्राविधिक विषयमा परामर्श दिने जिम्मेवारी प्रदान गरिएको छ।
श्रेष्ठले सन् २००९ मा सम्पन्न कोपेनहेगन जलवायु सम्मेलनदेखि निरन्तर रूपमा संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई नजिकबाट पछ्याउँदै आएका छन्। एसियाका विभिन्न देशमा सरकारी निकाय, गैरसरकारी संस्था तथा नागरिक समाजसँग सहकार्य गर्दै जलवायु अनुकूलन र नीतिगत क्षेत्रमा काम गरेको उनीसँग लामो अनुभव छ।
बेलायतको युनिभर्सिटी अफ ससेक्सबाट प्रतिष्ठित चेभनिङ छात्रवृत्तिमा जलवायु परिवर्तन तथा नीतिसम्बन्धी विषयमा स्नातकोत्तर तह पूरा गरेका श्रेष्ठ जलवायु अभियान र अध्ययनका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। जलवायु परिवर्तनको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले सन् २०१७ मा उनलाई राष्ट्रिय जलवायु परिवर्तन पुरस्कारबाट सम्मानित गरेको थियो।
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या, अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने हानि तथा नोक्सानीसम्बन्धी मुद्दा र हरित जलवायु कोषलगायतका अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच अभिवृद्धि गर्ने विषयमा श्रेष्ठको विज्ञता र अनुभव मन्त्रालयका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलनका कार्यक्रम प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालको हितलाई सशक्त रूपमा प्रस्तुत गर्ने प्रयासमा श्रेष्ठको अनुभव उपयोगी हुने विश्वास गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342