विराटनगर । विराटनगर–३ गोग्राह चोकमा करिब एक करोड रुपैयाँको लगानीमा ‘फोर स्टार म्याट्रेस स्टुडियो’ सञ्चालनमा आएको छ। बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका छन्।
स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा आरामदायी निद्राका लागि उपयोगी सामग्री उपलब्ध छन्। ग्राहकको आवश्यकता र बजेटअनुसार १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका उत्पादन यहाँबाट खरिद गर्न सकिने सञ्चालकले बताएका छन्।
फोर स्टार म्याट्रेस कम्पनीका अध्यक्ष ताराबहादुर कट्वालले मानिसको स्वास्थ्य र आरामसँग प्रत्यक्ष सम्बन्ध राख्ने ओछ्यानको महत्वलाई ध्यानमा राखेर स्टुडियो सञ्चालनमा ल्याइएको बताए। दैनिक करिब आठ घण्टा आराम गर्ने ओछ्यानको छनोटमा पर्याप्त ध्यान नदिइने गरेको उल्लेख गर्दै उनले विश्व बजारमा उपलब्ध विभिन्न प्रकारका उत्पादन नेपाली उपभोक्तामाझ पुर्याउने लक्ष्य रहेको बताए।
‘आठ घण्टा आरामको साथी भनेको ओछ्यान हो, तर यसलाई अझै पनि बेवास्ता गर्ने गरिएको छ,’ कट्वालले भने, ‘विश्व बजारमा उपलब्ध विभिन्न प्रकारका उत्पादन नेपाली ग्राहकलाई उपलब्ध गराउनु हाम्रो उद्देश्य हो।’
उनका अनुसार कम्पनीले आफ्ना उत्पादनमा वारेन्टी तथा ग्यारेन्टीको व्यवस्था गरेको छ। स्वदेशी उत्पादनको गुणस्तर, ग्राहकको आवश्यकता र बिक्रीपछिको सेवालाई कम्पनीले प्राथमिकता दिएको उनले बताए।
सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टार कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा विराटनगरमा स्टुडियो स्थापना गरेको हो। विराटनगरका सञ्चालक दिवश बजगाईंका अनुसार स्टुडियो स्थापनामा करिब एक करोड रुपैयाँ लगानी गरिएको छ।
बेड तथा म्याट्रेसलाई मात्रै केन्द्रमा राखेर स्थापना गरिएको यस्तो स्टुडियो नेपालमै पहिलो भएको बजगाईंले दाबी गरे। ग्राहकको माग र व्यवसाय विस्तारसँगै लगानी थप बढाउँदै लैजाने योजना रहेको उनले जानकारी दिए।
स्टुडियोको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए। स्वदेशमै उत्पादित वस्तुको प्रयोगले स्थानीय उद्योगको विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो।
‘स्वदेशी उत्पादनलाई प्रयोग गरौँ र आफ्नै उद्योगलाई प्रोत्साहन गरौँ,’ राउतले भने।
विराटनगरमा नयाँ स्टुडियो सञ्चालनमा आउनु सकारात्मक भएको उल्लेख गर्दै उनले यसले स्थानीय बजारमा सेवा विस्तार तथा आर्थिक गतिविधि बढाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रममा फोर स्टारकी ब्रान्ड एम्बेसडर सम्भावना भण्डारी, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतको उपस्थिति थियो।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै ग्राहकलाई बेड तथा म्याट्रेसका विभिन्न विकल्प उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको स्टुडियोले विराटनगरसहित आसपासका क्षेत्रका उपभोक्तालाई सेवा प्रदान गर्ने सञ्चालक बजगाईंले बताए।