आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै पुग्ने नेपालको लक्ष्य लगातार कठिन बन्दै गएको छ ।
नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार पराजित भएपछि नेपाल अंकतालिकामा झन् दबाबमा परेको हो ।
विदेशी भूमिमा ब्याटिङ पूर्ण रूपमा असफल रहँदा नेपालले लगातार दुई खेलमा १६० रनको आँकडा पार गर्न सकेन । अब नेपालले जारी शृङ्खलामा २ अनि यसपछिको शृङ्खलामा ४ खेल खेल्न बाँकी छ ।
बाँकी रहेका ६ खेलमध्ये सबै खेल जितेर पनि अन्य नतिजामा धेरै भर पर्नुपर्ने अवस्था सिर्जना हुन थालेसँगै नेपालको सिधै विश्वकप छनोट खेल्ने सम्भावना कमजोर बन्दै गएको हो ।
अंकतालिकामा दबाब बढ्दै
लिग २ को अंकतालिकामा हाल अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने स्कटल्यान्ड ३२ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । अमेरिका शीर्ष ४ मा पर्ने पक्का भइसकेको छ भने स्कटल्यान्डको पनि लगभग निश्चित छ ।
हाल शृङ्खला खेलिरहेको नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा छ भने ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छ ।
नेपाल ३० खेलबाट २४ अंकमा रहेको छ । समान २४ अंक भए पनि क्यानडाले २८ र नामिबियाले समान ३० खेल खेलेको छ । यूएईको २४ खेलबाट १४ अंक छ ।
नेपालले अब बाँकी सबै खेल जिते ३६ अंक हुनेछ । त्यसो हुँदाहुँदै पनि अन्य टिमले नेपाललाई अंकमा उछिन्ने सम्भावना धेरै नै छ । नेदरल्यान्ड्ससँग अब नेपालले अंक बराबरी मात्र गर्न सक्छ ।
लिग–२ मा सबै टोलीले अन्ततः ३६–३६ खेल खेल्ने प्रावधान अनुसार नेपालका अब ६ खेल मात्र बाँकी छन् ।
नेपालले अब अंकमा उछिन्न सक्ने भनेको ओमान मात्र रहनेछ । नेपालभन्दा तल रहेका टोलीले भने नेपालभन्दा बढी खेल खेल्न बाँकी रहेकाले उनीहरूले नेपाललाई उछिनेर अगाडि जान सक्छन् ।
नेपालले हालको शृङ्खलामा नामिबिया र नेदरल्यान्ड्ससँग एक–एक खेल खेल्न बाँकी छ भने अन्तिम शृङ्खलामा ओमान र क्यानडासँग दुई–दुई खेल हुनेछ ।
यता नेपालसँग प्रतिस्पर्धामा रहेका टोलीहरूको आगामी तालिका हेर्दा पनि नेपालको दबाब बढेको देखिन्छ ।
क्यानडा, नामिबिया र ओमान सबैसँग नेपालभन्दा बढी अंक जोड्ने अवसर अझै बाँकी छ । यूएईले पनि अन्तिम १२ खेल खेल्न बाँकी रहेकाले उत्कृष्ट प्रदर्शन गरे अप्रत्याशित रूपमा माथि उक्लिने सम्भावना जीवित छ ।
यस्तो अवस्थामा नेपालले अब बाँकी ६ खेलमध्ये सबै जित्नुपर्ने समिकरण त बनिसकेको छ । सबै जितेपनि पर्याप्त नहुने खतरा बढेको छ ।
घरेलु शृङ्खलामा शानदार प्रदर्शन गरेर बाहिरी कन्डिशनमा लगातार दुई हार बेहोरेपछि शीर्ष चारको दौडमा नेपाल पछाडि पर्दै गएको छ भने अबको प्रत्येक खेल लगभग ‘गर या मर’ को अवस्थामा पुगेको छ ।
शीर्ष ४ किन महत्त्वपूर्ण ?
सन् २०२३ देखि सुरु भएको क्रिकेट विश्वकप लिग २ एकदिवसीय विश्वकप खेल्ने आधार हो । झन्डै चार वर्षसम्म चल्ने लिग २ मा रहेका ८ टोलीले विभिन्न समयमा गरेर ३६ ओडीआई खेल्छन् ।
लिग २ का सम्पूर्ण खेल सकिएपछि शीर्ष ४ मा पर्ने टोली सिधै विश्वकप छनोटमा प्रवेश गर्नेछन् भने एकदिवसीय मान्यता स्वत: नै जोगिनेछ । शीर्ष ६ सम्म पर्ने टोलीकै एकदिवसीय मान्यता खोसिँदैन ।
नेपालका लागि शीर्ष ४ किन महत्त्वपूर्ण छ भने नेपालले यसअघिको लिग २ मा शानदार पुनरागमन गरेर शीर्ष ४ मा पर्दै सोझै विश्वकप छनोट खेलेको थियो । यसपटक शीर्ष ४ मा पर्न नसकेमा नेपालको स्तर खस्किएको बुझिनेछ ।
टी-२०आईमा राम्रो प्रगति गर्दैं गएको भएपनि ओडीआईमा खराब अवस्था रहेको प्रष्टै हुनेछ ।
लिग २ मा शीर्ष ४ मा पर्न नसकेका ४ टोलीले आईसीसीको अर्को प्रतियोगिता विश्वकप च्यालेन्ज लिगबाट आएका ४ टोलीसँगै मिलेर प्लेअफ लिग खेल्नेछन् । लिस्ट ए फर्म्याटमा हुने प्लेअफ लिगमा शीर्ष ४ हुने टोलीले विश्वकप छनोटमा स्थान बनाउन सक्छन् तर यो प्रक्रिया लामो हुनेछ ।
ब्याटिङ संकट
नेपालको सबैभन्दा ठूलो समस्या ब्याटिङ बनेको छ । जारी शृङ्खलाका दुवै खेलमा नेपाल १५७ रनमै अलआउट भयो ।
नामिबियाविरुद्ध कप्तान रोहित पौडेलले सर्वाधिक ३१ तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए पनि अन्य ब्याटरले जिम्मेवारी लिन सकेनन् ।
नेदरल्यान्ड्सविरुद्ध पनि अवस्था फेरिएन । आरिफ शेखले ९० बल खेल्दै सर्वाधिक ४१ रन बनाए भने गुल्शन झाले २९ रन जोडे । तर मध्यक्रमबाट ठूलो साझेदारी नबन्दा नेपाल फेरि १५७ रनमै समेटियो ।
नेपालको सुरुवात पनि लगातार कमजोर भइरहेको छ । कुशल भुर्तेल पहिलो खेलमा २ रनमा आउट भएका थिए भने दोस्रो खेलमा ९ रनमै पेभिलियन फर्किए । आसिफ शेखले पहिलो खेलमा १६ र दोस्रो खेलमा १४ रन मात्र बनाउन सके । इशान पाण्डेले क्रमशः ८ र ४ रन बनाए ।
शीर्षक्रमबाट राम्रो सुरुवात नपाउँदा नेपालको मध्यक्रममाथि अत्यधिक दबाब पर्दै आएको छ ।
बलरले संघर्ष गरे, तर पर्याप्त भएन
नेदरल्यान्ड्सविरुद्ध नेपाली बलरले सुरुआतमा उत्कृष्ट प्रदर्शन गरेका थिए । १५८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ७४–४ को अवस्थामा पुगेको थियो ।
त्यसपछि भने नेपालले खेलमा पकड कायम राख्न सकेन। पाँचौं विकेटका लागि बनेको महत्वपूर्ण साझेदारीले घरेलु टोलीलाई १५८–४ को अवस्थामा सहज जित दिलायो ।
यसले बलिङले मात्र खेल जित्न नसकिने र ब्याटिङले पनि पर्याप्त साथ दिनुपर्ने आवश्यकता फेरि स्पष्ट बनाएको छ ।
ब्याटिङमा पर्याप्त रन नबनेका कारण नेपालले बलिङमार्फत पनि पुनरागमन गर्न सक्ने अवस्था सिर्जना गरेको छैन ।
यता नेदरल्यान्ड्स र नामिबियाबीचको खेलमा भने नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्नुपरेको भएपनि २५१ रनको योगफल खडा गरेको थियो ।
नेदरल्यान्ड्सको प्लेइङ कन्डिशन अनुसार उक्त योगफल राम्रो मानिन्छ । नेदरल्यान्ड्सले नामिबियालाई १९३ रनमा अलआउट गर्दै खेल पनि जित्यो ।
त्यसकारण नेपालले बलिङभन्दा पनि ब्याटिङमा धेरै सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । आगामी खेलमा नेपालले अर्जुन कुमाल र भीम सार्कीलाई प्रयोग गर्न सक्छ ।