सुनकोशी–मरिण डाइभर्सनको नयाँ ठेक्का प्रक्रिया रद्द

Radio Nagarik 100.4 MHz शनिबार, कार्तिक १५, २०८३

सिन्धुलीमाढी, कात्तिक १४ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण लगायतका संरचना बनाउन अघि बढाइएको नयाँ ठेक्का प्रक्रिया रद्द भएपछि आयोजना निर्माणको काम थप अन्योलमा परेको छ ।

आयोजनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको बोलपत्र प्रक्रिया रद्द गरेको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा २ मा रहेको व्यवस्थालाई आधार बनाउँदै बोलपत्र प्रक्रिया रद्द गरिएको सूचनामा उल्लेख छ ।

आयोजनाका सूचना अधिकारी तथा वरिष्ठ डिभिजनल इन्जिनियर अशोक गौतमले नयाँ ठेक्का प्रक्रिया रद्द भएको बताउनुभयो । तर, प्रक्रिया रद्द हुनुको कारणबारे आफूलाई पनि स्पष्ट जानकारी नभएको उहाको भनाइ छ । ‘ठेक्का प्रक्रिया रद्द भएको छ । किन रद्द भयो भन्ने विषयमा म पनि बुझ्दै छु,’ उहाँले भन्नुभयो ।

आयोजनाका अनुसार उक्त ठेक्काका लागि छ निर्माण कम्पनीले आर्थिक प्रस्तावसहित बोलपत्र दर्ता गराएका थिए । तीमध्ये तीन कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो ।

चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन बेइजिङ, अन्नेग आरसिसी जेभी र सिन्नोहाइड्रो कर्पोरेसन चीनको आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको थियो । आयोजनाले असोज २७ गते सूचना जारी गरी कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको थियो ।

यसअघि सुनकोशी नदीमा बाँध र विद्युत गृह निर्माणको जिम्मा पाएको पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएपछि नयाँ ठेक्का आह्वान गरिएको हो । पटेल–रमण जेभिले सम्झौता अनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले कात्तिक २४ गते सूचना जारी गर्दै ठेक्का सम्झौता तोडेको थियो ।

आयोजनाका अनुसार पटेल–रमण जेभिले सम्झौता अवधिको करिब ६१ प्रतिशत समय बितिसक्दा निर्माणको भौतिक प्रगति करिब ११ प्रतिशत मात्रै पुगेको थियो । २०७९ पुसमा चार वर्ष सात महिनाभित्र काम सम्पन्न गर्ने गरी १४ अर्ब सात करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँध निर्माणस्थलमा निर्माण गतिविधि ठप्प जस्तै बनेको छ । नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला रद्द भएपछि आयोजनाको आगामी काम बारे अन्योल बढेको छ ।

सिन्धुली क्षेत्र नं. २ का सांसद तथा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पनि ठेक्का प्रक्रिया रद्द हुनुको कारणबारे आफूले बुझिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तिम समयमा आएर किन रद्द भयो भन्ने विषयमा म पनि बुझ्दै छु ।’

यसैबिच, नयाँ ठेक्का प्रक्रियाको अन्तिम चरणमा रहेका बेला सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिनुको कारणबारे सम्बन्धित निकायबाट सार्वजनिक रूपमा विस्तृत जानकारी आएको छैन ।

आयोजना अन्तर्गत कमलमाई नगरपालिका–२ कुसुमटारदेखि १३ दशमलव ३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सुनकोशी नदीमा ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माण भएपछि प्रतिसेकेन्ड ६७ घनमिटर पानी मरिण खोलामा खसाल्ने योजना छ ।

त्यसबाट ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुयाउने आयोजनाको लक्ष्य छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342