विराटनगर–८ मा भान्सा कोठा सुरक्षा तथा अग्नि नियन्त्रणसम्बन्धी अभिमुखीकरण
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोग तथा अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा भान्सा कोठा सुरक्षा मापदण्ड तथा अग्नि नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
भान्सा कोठामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी गराउँदै सम्भावित दुर्घटना न्यूनीकरण तथा आगलागीबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वडा नम्बर ८ का ३० देखि ४५ वर्ष उमेर समूहका ३५ जना महिलाको सहभागिता रहेको थियो। सहभागीहरूलाई भान्सामा ग्यास चुलो प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, आगलागीबाट बच्ने उपाय तथा आगलागी भइहालेमा अपनाउनुपर्ने प्राथमिक नियन्त्रणका उपायबारे प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा रामकुमार दाहालले प्रशिक्षण दिएका थिए। अम्बे मुरारी सेवा केन्द्रकी अध्यक्ष भारती पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रमको उद्देश्य, महत्व तथा उपलब्धिबारे संस्थाकी अध्यक्ष भारती पोखरेलले जानकारी गराएकी थिइन्।