विराटनगर । पत्रकारहरूद्वारा सञ्चालित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित भएका छन्। संस्थाको १५औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदका लागि खतिवडा र धनकुमारी थापाबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा कुल १०४ मत खसेकोमा खतिवडाले ७३ मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी थापाले ३१ मत प्राप्त गरेकी थिइन्। निर्वाचन समिति संयोजक महानन्द सापकोटाले खतिवडाको विजय भएको जानकारी दिएका हुन्।
अधिवेशनबाट सञ्चालक समितिको उपाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा तारा आचार्य निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, सञ्चालक समिति सदस्यमा भोजराज घिमिरे, राजेशकुमार राजवंशी, दीपकबहादुर खड्का, पदम सरदार र उषाकुमारी सरदार निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी, लेखा समिति संयोजकमा अभिनाशकुमार निधि तथा सदस्यहरूमा पुष्पराज थपलिया र हरि अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
यसैबीच, साधारणसभाको अवसरमा संस्थाले शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने दुई विद्यार्थीसहित विभिन्न विधाका ६ जनालाई सम्मान गरेको छ।
एसईई २०८२ मा ३.८४ जीपीए प्राप्त गर्ने शेयर सदस्य टेकप्रसाद अधिकारीका छोरा मुलुक शर्मा र कक्षा १२ मा ३.२८ जीपीए प्राप्त गर्ने शेयर सदस्य विक्रम लुइँटेलकी छोरी सुबिसा लुइँटेललाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
त्यसैगरी, विद्यावारिधि हासिल गरेका शेयर सदस्य डा. रामचन्द्र अधिकारी, उत्कृष्ट बचतकर्ता रोशन पोखरेल, असल ऋणी प्रदीप भुजेल र अग्रज शेयर सदस्य तेजेन्द्रबहादुर भण्डारीलाई पनि सम्मान गरिएको छ।

सम्मानित सबैलाई साधारणसभाका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ शेयर सदस्य शिवबहादुर कार्कीले सम्मान गरेका थिए।
शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने शेयर सदस्यका सन्तानलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले २०८२ सालदेखि नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम सुरु गरेको हो। यसले सहकारीमा आबद्ध सदस्यका परिवारका विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास संस्थाले लिएको छ।
पत्रकारहरू आबद्ध भई सञ्चालन गर्दै आएको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले बचत तथा ऋण कारोबारसँगै सदस्यहरूको आर्थिक, सामाजिक र शैक्षिक विकासमा समेत योगदान पुर्याउँदै आएको छ। साधारणसभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा र नेतृत्व चयन गर्दै सहकारीको संस्थागत विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।