लेटाङ । लेटाङ नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी गरी ४ हजार ३ सय ४० जनाको लगत प्रमाणित गरी जिल्ला भूमि समस्या समाधान समिति मोरङलाई हस्तान्तरण गरेको छ।
नगरपालिकाका ९ वटै वडाबाट संकलित विवरणअनुसार भूमिहीन दलित १६४, भूमिहीन सुकुम्बासी ५९० र अव्यवस्थित बसोवासी ३ हजार ५८६ जना रहेका छन्।
नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला लगायतको टोलीले विराटनगर पुगेर जिल्ला समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई फारम तथा आवश्यक कागजातसहितको विवरण बुझाएको हो।
जिल्ला समितिका सदस्यसचिव गिरिसकुमार लाल कर्णले लेटाङले सबै वडाको लगत प्रमाणित गरी बुझाएको जनाउँदै प्राप्त विवरण अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो।
समितिले अब विवरण परीक्षण गरी आवश्यकताअनुसार ७ दिने सूचना प्रकाशन, दाबी–विरोध, कागजात प्रमाणीकरण तथा स्थलगत अध्ययन गर्ने जनाएको छ। निकुञ्ज, घना वन तथा नदी किनारमा बसोबास गर्ने परिवारको हकमा कानुनी अवस्थाअनुसार वैकल्पिक व्यवस्थापनसमेत अध्ययन गरिनेछ।
नगर प्रमुख लावतीले भूमिसम्बन्धी समस्या समाधानलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउँदै जिल्ला समितिसँग आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।