तास खेलिरहेको समूहमा प्रहरीको छापा, भाग्ने क्रममा एक घाइते; हिरासतमै एकको मृत्यु

भोजराज घिमिरे मंगलबार, आश्विन १३, २०८३

तास खेलिरहेको समूहमा प्रहरीको छापा, भाग्ने क्रममा एक घाइते; हिरासतमै एकको मृत्यु
विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका एक व्यक्तिको प्रहरी हिरासतमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीबाट उम्किने क्रममा घरको दुई तलामाथिबाट हामफालेका अर्का व्यक्ति घाइते भएका छन्।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन्। घाइते हुनेमा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया रहेका छन्।
विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरीले कोइरालासहित आठ जनालाई पक्राउ गरेको थियो। राति करिब साढे ११ बजे गस्तीमा रहेको प्रहरी टोलीले केही व्यक्ति होहल्ला गर्दै भागिरहेको देखेपछि घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार टोलीलाई देखेपछि भाग्ने क्रममा मुखियाले घरको दुई तलामाथिबाट हामफालेका थिए। हामफाल्दा उनको दाहिने खुट्टा भाँचिएको छ। एम्बुलेन्स चालकसमेत रहेका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ।
घटनास्थलबाट पक्राउ परेका आठै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो। उनीहरूको साथबाट तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।
हिरासतमा रहेका कोइराला मंगलबार बिहान करिब साढे ७ बजे अचानक अचेत अवस्थामा भेटिएका थिए। सँगै रहेका साथीहरूले चिया खान उठाउँदा नबोलेपछि उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो।
नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले कोइरालालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
डीएसपी मिश्रका अनुसार कोइरालाको यसअघि दुर्घटनामा परी टाउकाको शल्यक्रिया भएको पाइएको छ। उनी यसअघि पनि तास खेल्दै गर्दा पक्राउ परेको प्रहरीको भनाइ छ। यद्यपि, हिरासतमै बेहोस हुनु र मृत्यु हुनुको कारण भने तत्काल खुल्न सकेको छैन।
‘तास खेल्दै गरेका बेला पक्राउ गरिएका सबैलाई एउटै हिरासतमा राखिएको थियो। बिहान चिया खान साथीहरूले उठाउँदा नउठेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको हो,’ डीएसपी मिश्रले भने।
पक्राउ पर्ने अन्यमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल तथा ४३ वर्षीय विष्णु कामत रहेका छन्।
कोइरालाको मृत्यु र मुखियाको घाइते भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरी टोली पुगेपछि भएको भागदौडमा अन्य केही व्यक्तिलाई समेत सामान्य चोट लागेको बताइएको छ।
स्थानीयका अनुसार पासवानको घरमा नियमितजस्तै तास खेल्न मानिसहरू भेला हुने गरेका थिए। प्रहरीका अनुसार उक्त स्थानमा तास खेल्न अन्य क्षेत्रबाट समेत मानिसहरू आउने गरेको पाइएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342