नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ ।
विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मीठा परिकार दरका रूपमा खाने गरिन्छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । शास्त्रीय मान्यताअनुसार दर दुई भाग रात छँदै खाइसक्नुपर्ने विधान छ ।
यस्ता गतिविधिले आर्थिक रूपमा विपन्न वर्गलाई खिन्न बनाउने भएकाले विकृति रोकिनुपर्ने विज्ञहरूको तर्क छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार तृतीयाका दिन नीराहार व्रत बस्नकै लागि द्वितीयाको बेलुकी दर खाने शास्त्रीय विधान तोकिएको हो । समाजमा विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालयहरू नै महिनौँअघिदेखि तामझामसहितका कार्यक्रममा संलग्न हुनु उचित नभएको उनको भनाइ छ ।
चारदिने तीज पर्वको तालिका
आइतबार दर खाएपछि सुरु हुने यो पर्व ऋषि पञ्चमीका दिनसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत बसिन्छ भने चौथीका दिन गणेश पूजा गरिन्छ । यस वर्ष भदौ ३० गते मङ्गलबार बिहान गणेश चौथी र सोही दिन मध्याह्नकालमा स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजाआजा गरेर ऋषि पञ्चमी पर्व मनाइने समितिद्वारा स्वीकृत पात्रोमा उल्लेख छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गौरीघाटमा कठोर तपस्या गरेकी थिइन् । तर पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले पार्वतीलाई हरण गरेर (लुकाएर) कसैले नदेख्ने ठाउँमा पुर्याएका थिए । सोही स्थानमा पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ ।
साथीहरूद्वारा हरण गरिएकी हुनाले यस व्रतलाई ‘हरितालिका’ भनिएको धर्मशास्त्रीय मान्यता छ । तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बर्तालु महिलाहरूको ठुलो भीड लाग्ने गर्दछ । तीजको सुरुआतसँगै नेपाली समाजमा चाडपर्वको उल्लासमय वातावरण छाएको छ र यस लगत्तै बडादसैँ तथा तिहारजस्ता ठुला पर्वहरू सुरु हुने गर्दछन् ।