बाढीपीडितलाई रोहिंग्या शरणार्थीको राहत: विस्थापन पीडामा हातेमालो

Radio Nagarik 100.4 MHz आइतबार, भाद्र २१, २०८३

नेपालमा २०६५ सालयता शरण लिइरहेका रोहिंग्या शरणार्थीहरू यतिखेर आश्रयदाता देशका बाढीपीडितको घाउमा मलम लगाउन अघि सरेका छन्। आफूले शरण लिइरहेको देशमा यही भदौ १० गते हिमबाढीले कहर निम्त्याएपछि उनीहरू विस्थापितहरूको पीडामा साथ दिन लागिपरेका हुन्।

बर्मा (म्यानमार) को सरकारले सन् १९८२ देखि अनागरिक बनाएर हिंसात्मक दमन गरी जनसंहार थालेपछि मुख्यतः रखाइन राज्यका रोहिंग्याहरू बंगलादेश र भारत हुँदै हिमालयको काखमा शरण लिन आइपुगेका थिए। स्थायी घर, सुरक्षित जीविकोपार्जन र आफ्ना बालबालिकाका लागि स्थिर शैक्षिक अवसरसमेत नपाएर काठमाडौंमा बसोबास गरिरहेका रोहिंग्याहरूले बाढी प्रभावित क्षेत्रमै पुगेर राहत हस्तान्तरण गरिसकेका छन्।

काठमाडौंमा रहेका रोहिंग्याहरूले आफूहरूसँग रहेको रकम संकलन गरी बाढी प्रभावित परिवारलाई भदौ १६ गते मंगलबार १० बोरा चामल, ५० कार्टन चाउचाउ, २५ कार्टन बिस्कुट, ६ बोरा चिउरा, चार बोरा भुजा र २० कार्टन पिउने पानी हस्तान्तरण गरे। राहत सामग्रीमा ज्याकेट, कम्बल, सिरानी, ओछ्यानका सामान, त्रिपाल र कपडा पनि थियो।

उक्त राहत सामग्री रोहिंग्या प्रतिनिधिले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपाललाई हस्तान्तरण गरे। वडाध्यक्ष नेपालले विपत्‌बाट प्रभावित विस्थापितलाई मानवीय सहयोग गरेकोमा रोहिंग्या समुदायको प्रशंसा गरे।

रोहिंग्या समुदायका तर्फबाट यस पहलमा मोहम्मद सलिम, जाफर मियाँ, मोहम्मद रफिक, मौलाना अस्मतुल्लाह, शफिकुल आलम, अबु बकर, मोहम्मद बेलाल र मोहम्मद आयुब सहभागी थिए। “हामी स्वयं नरसंहार र जबरजस्ती विस्थापनको पीडा भोगेर नेपालमा शरणार्थी जीवन बिताइरहेका छौं,” रोहिंग्या शरणार्थी मौलाना अस्मतुल्लाहले भने, “भोटेकोशीमा आएको विपत्‌ले हामीलाई पनि गहिरो रूपमा प्रभावित बनायो। त्यसैले आफ्नो सीमित क्षमताअनुसार बाढी प्रभावित मानिसहरूको साथमा उभिने प्रयास गरेका हौं।”

अर्का शरणार्थी मोहम्मद सलिमले सधै‌ मित्रवत् व्यवहार गरेका नेपालीहरू कठिन परिस्थितिमा हुँदा उनीहरूको साथमा उभिन आफूहरूले जिम्मेवारी महसूस गरेको बताए। यो पहलले दुई समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने आशा उनले राखे।

आफैं समस्यामा

नेपालले भोगेको पछिल्लो प्राकृतिक विपत्‌मा सघाइरहेका रोहिंग्या समुदायले अझै विभिन्न गम्भीर चुनौती सामना गरिरहेका छन्। मुख्यतः काठमाडौंमा रहेका उनीहरूसँग दीर्घकालीन र सुरक्षित आवासको व्यवस्था छैन। नियमित रोजगारीको अवसर पनि सीमित छ। शरणार्थी बालबालिकाको शिक्षामा पहुँच पुगेको छैन। जीविकोपार्जनका लागि धेरै परिवार दैनिक ज्याला–मजदूरी, कृषि कार्य तथा अन्य अस्थायी रोजगारीमा निर्भर छन्।

समुदायका सदस्यहरूका अनुसार गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूबाट प्राप्त सहयोगसमेत पछिल्लो समय घट्दैछ। धेरै परिवार अनौपचारिक काम र समुदायभित्रकै सहयोगमा निर्भर हुन बाध्य छन्। आफ्नै जीवनमा यस्ता कठिनाइ हुँदाहुँदै रोहिंग्या समुदायले बाढीबाट प्रभावित नेपाली परिवारलाई राहत अभियानमा योगदान दिने निर्णय गरेको हो।

राहतभन्दा परको सन्देश

रोहिंग्या समुदायका लागि यो पहल खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा मात्र सीमित छैन। संकटका बेला नेपाली समाजसँग ऐक्यबद्धता जनाउँदै सम्बन्ध थप बलियो बनाउने प्रयास पनि हो। बाढी प्रभावित परिवारलाई सहयोग गरेर उनीहरू नेपाली समाजसँगको सम्बन्ध अझ सुदृढ बनाउन र रोहिंग्या शरणार्थीबारे रहेका नकारात्मक धारणा तथा पूर्वाग्रह हटाउन चाहन्छन्।

यो पहलले एउटा व्यापक मानवीय सिद्धान्तलाई पनि प्रतिबिम्बित गर्छ– आफैं विस्थापन र कठिनाइ भोगेका मानिसहरूले पनि विपत्‌मा परेकासम्म सहयोगको हात बढाउन सक्छन्। रोहिंग्या शरणार्थीका लागि यो राहत अभियान परोपकारको कार्य मात्र होइन, समुदाय र परिस्थितिभन्दा करुणा माथि हुन्छ भनी देखाउने अभ्यास पनि हो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342