काठमाडौँ — कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको तालिका फेरि संशोधन गर्ने भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले आन्तरिक एकताको प्रयास र बाढीका कारण आगामी बुधबारदेखि सुरु हुने वडा अधिवेशनको तालिका केही संशोधन हुने बताएका हुन् ।
तर, १६–१९ असोजमा हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत् रहने उनले बताए । यससम्बन्धी निर्णय आइतबार बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ ।
पार्टीभित्रको विवाद मिलाएर एकताको महाधिवेशन गराउने प्रयासस्वरूप सभापति गगन थापाले अन्तिम प्रयास थालेका छन् । थापाको पहलमा पार्टीका विभिन्न नेतामार्फत पूर्वसभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग संवाद भइरहेको छ ।
कोइराला र खड्का महाधिवेशनका लागि सकारात्मक देखिए पनि पूर्वसभापति देउवा र उनीनिकट नेताहरू अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्म महाधिवेशन गर्न नहुने पक्षमा छन् ।
विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने वैशाख ४ को सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै देउवा र खड्काले सर्वोच्चमा अलग–अलग मितिमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । त्यसउपर सर्वोच्चले साउन २१ मा पुनरावलोकनका लागि अनुमति दिएको थियो । त्यसलगत्तै महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै परेको पूरक रिटमा भने सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि संस्थापन पक्षलाई महाधिवेशन अघि बढाउने बाटो खुलेको थियो ।