काठमाडौँ। पछिल्लो समय विवादमा तानिएको ‘ग्रीन आर्मी नेपाल’ का विषयमा गृह मन्त्रालयले चासो देखाएको छ । मन्त्रालयले ग्रीन आर्मीसँग सम्बन्धित कागजात माग गरेको पुष्टि भएको छ ।
संस्थाको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसद्सम्म प्रश्न उठेपछि गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थाका आधिकारिक डकुमेन्टहरू माग गरेको हो ।
उनले भने, ‘आर्मी शब्द प्रयोग भएका अरू धेरै कम्पनीहरू पनि छन्, यदि यो शब्द प्रयोग गर्दा नराम्रो हुने हो भने सरकारले पोलिसी(नीति) बनाउनुपर्छ । नियम आएमा हामी ३५ दिनभित्र नाम फेर्न तयार छौँ ।’ तर अहिलेकै अवस्थामा संस्थालाई रोक्न खोजिए यसविरुद्ध कानुनी उपचारमा जाने बाटो आफूहरूसँग सुरक्षित रहेको उनले बताए । विगतमा सबै प्रक्रिया पूरा भएकाले अहिले खारेज गर्न खोजिए त्यो सरासर गैरकानुनी हुने उनको भनाइ थियो ।
उनले आफूहरूले प्रयोग गरेको ड्रेस एनसीसीका विद्यार्थीहरूले लगाउने पोसाकसँग मिल्दोजुल्दो रहेको र यसलाई अन्यथा लिन नहुने तर्क गरे ।
संस्थाले मुख्यतया वृक्षारोपण, हरियाली प्रवर्द्धन, कृषि र विद्यालयहरूमा स्वयंसेवाको काम गर्दै आएको दाबी शर्माको छ । उनले संस्थालाई बदनाम गराउनका लागि सामाजिक सञ्जालमा एआईको दुरुपयोग गरी भ्रामक फोटो र सन्देशहरू फैलाइएको आरोप समेत लगाए ।
‘हाम्रो तस्बिरमा एआई प्रयोग गरेर दारी बढाइदिने र धार्मिक रूप दिएर मिसलिड गर्न खोजिएको छ, यस्तो गर्नेहरूमाथि कारबाही हुनुपर्छ,’ उनले भने । कम्पनी रजिस्ट्रारको कार्यालय र समाज कल्याण परिषद्मा विधिवत् दर्ता भएरै संस्थाले काम गरिरहेको उल्लेख गर्दै उनले कुनै पनि सरकारी निकायले पोलिसीभन्दा बाहिर गएर संस्था खारेज गर्न नसक्ने जिकिर गरे । यसैबिच सैनिक प्रवक्ता सहायक रथि राजाराम बस्नेतले २०७८ मा ग्रीन आर्मीबारे राय माग भएको र पोसाकको सन्दर्भमा आफूहरूसँग मेल नखाने भनेर जवाफ सम्बन्धित निकायलाई पठाइएको बताए । अन्य हकमा नियमकानुनअनुसार जान सकिने भनेर राय दिइएको स्मरण गर्दै उनले यसबाहेक अहिलेको विषयमा सेनालाई सरोकार नरहने स्पष्ट पारे।