विराटनगर । कोशी प्रदेशका सत्ता सहयात्री दलहरू; नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले निर्माण गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेको छ ।
कार्यदलका तर्फबाट नेकपा संसदीय दलका नेतासमेत रहेका इन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री कार्कीलाई साझा कार्यक्रम हस्तान्तरण गरिएको हो ।
साझा कार्यक्रमले कोशी प्रदेशको पहाडी जिल्लाहरूमा मुख्य समस्याको रूपमा रहेको बाँदर आतंकलाई नियन्त्रण गर्न नीतिगत रूपमै सम्बोधन गर्ने जनाएको छ । किसानको बालीनाली नष्ट गर्ने बाँदर नियन्त्रणका लागि आवश्यक अध्ययन र अनुसन्धान गरी ठोस नीति तय गर्ने प्रतिबद्धता साझा कार्यक्रममा रहेको छ ।
यस्तै बसाइसराइँ रोक्न प्रदेशले एकीकृत बस्ती निर्माणको योजना ल्याउने पनि साझा कार्यक्रममा उल्लेख छ । ‘खासगरी अनियन्त्रित बसाइसराइलाई नियन्त्रण गर्न एकीकृत ग्रामीण विकास प्राधिकरणको संरचनागत व्यवस्था गरी त्यसमार्फत ग्रामीण विकासको नयाँ योजना तथा कार्यक्रमलाई अघि बढाइनेछ,’ उक्त साझा कार्यक्रममा उल्लेख छ ।
नयाँ साझा कार्यक्रमले स्थानीय मदिरा र गाँजा खेती प्रवर्द्धनलाई कानुनी दायरामा ल्याउने उल्लेख गरेको छ । जनस्तरबाट व्यापक माग भई आएका यी विषयलाई प्रचलित कानुनको परिधिभित्र रही उत्पादन र बजारीकरणका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने प्रतिबद्धता नयाँ गठबन्धनले गरेको छ । यो वार्षिक नीति तथा कार्यक्रममा नभएको विषय पनि हो ।
यस्तै साझा कार्यक्रममा प्रदेश सरकारका मन्त्रालय र निकायहरूको सरचना निर्माण गर्ने उल्लेख छ । ‘प्रदेश सरकार र निकायको स्थायी संरचना स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ बढाइनेछ,’ साझा कार्यक्रममा भनिएको छ । संसद्बाट पारित वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै साझा कार्यक्रमले पनि प्रत्येक जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गर्ने लक्ष्यलाई दृढताका साथ अघि सारेको छ ।
त्यस्तै, धनकुटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने र मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने विषय दुवै कार्यक्रममा समान छन् । पूर्वाधार विकासतर्फ प्रादेशिक सडक सञ्जाल गुरुयोजना कार्यान्वयन गर्ने, पुलहरूको मर्मत सम्भारका लागि उपकरणसहितको प्राविधिक जनशक्ति परिचालन गर्ने र रणनीतिक सडकहरूको निर्माणलाई पूर्णता दिने नीति तथा कार्यक्रमको विषय साझा कार्यक्रममा पनि दोहोरिएको छ ।