काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र उद्धार टोली प्रवेश गरेको छ। टनेलमा फसेका श्रमिक तथा अन्य व्यक्तिको खोजीका लागि भग्नावशेष र लेदो हटाउँदै उद्धार टोली भित्र पुगेको हो।
शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर टनेलको प्रवेश क्षेत्रमा थुप्रिएको माटो, लेदो, ढुंगामुढा र कंक्रिट हटाउने काम भइरहेको थियो। अवरोध हटाएर टनेलको भित्री भागसम्म पुग्ने बाटो खुलेपछि उद्धार टोली टनेलभित्र प्रवेश गरेको हो।
इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली टनेलभित्र प्रवेश गरी खोज तथा उद्धारको काम अघि बढाइरहेको छ। बाढीले ठूलो मात्रामा लेदो र भग्नावशेष थुपारेकाले सुरुआती चरणमा टनेलसम्म पुग्नै कठिन भएको थियो।
उद्धार टोलीले जोखिमबीच टनेलभित्र थप भागमा पुगेर फसेका व्यक्तिको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको छ। टनेलभित्रको अवस्था यकिन गर्न तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै भग्नावशेष क्रमशः हटाउने काम जारी राखिएको छ।
बाढीका कारण टनेलको प्रवेश क्षेत्रमा बाक्लो लेदो, ढुंगा र कंक्रिट थुप्रिएपछि खोज तथा उद्धार प्रभावित भएको थियो। एक्स्काभेटरको सहायताले ती सामग्री हटाएपछि उद्धारका लागि बाटो खुलेको हो।
टनेलभित्र रहेका व्यक्तिहरूको अवस्था र उद्धारको प्रगतिबारे थप विवरण भने टोलीले भित्रको अवस्था मूल्यांकन गरेपछि मात्र स्पष्ट हुने बताइएको छ।