ओखलढुङ्गामा आर्थिक वर्ष २०८२र८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान
कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत आकस्मिक हवाई उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुत्केरी हुन नसकेका, प्रसूतिको क्रममा अत्यधिक रक्तस्राव भएका, जटिल स्वास्थ्य समस्या देखिएका तथा आमा र गर्भस्थ वा नवजात शिशुको ज्यान उच्च जोखिममा परेका महिलालाई हेलिकप्टरमार्फत काठमाडौँलगायत सुविधा सम्पन्न अस्पतालमा पु¥याएर उपचारको व्यवस्था गरिएको हो।
दुर्गम भौगोलिक बनोट, कठिन सडक पहुँच र विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण समयमै उपचार नपाउँदा आमा र शिशुको ज्यान जोखिममा पर्ने अवस्था रहने भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार हेलिकप्टरमार्फत समयमै उद्धार भएपछि जोखिममा परेका महिलाले विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार पाएका छन्। यसले आमा मात्र नभई नवजात शिशुको जीवनसमेत सुरक्षित गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ।
उद्धार प्रक्रिया स्थानीय तह, स्वास्थ्य संस्था र संघीय निकायबीचको समन्वयमा सञ्चालन हुँदै आएको छ। स्थानीय तहका अध्यक्ष वा उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसका आधारमा प्रक्रिया सुरु हुने र त्यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा गृह मन्त्रालयको समन्वयमा तत्काल हेलिकप्टर परिचालन गरी उद्धार गरिने व्यवस्था रहेको छ।
स्वास्थ्यकर्मीका अनुसार जटिल प्रसूति भएका महिलाका लागि केही घण्टाको ढिलाइले समेत गम्भीर परिणाम निम्त्याउन सक्ने भएकाले दुर्गम बस्तीमा सञ्चालित निःशुल्क हवाई उद्धार सेवा प्रभावकारी बनेको छ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम जिल्लाका जोखिममा परेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवन रक्षा गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको जनाएको छ।
सडक सञ्जाल र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच अझै सीमित रहेका क्षेत्रमा यो सेवा जीवनरक्षक सावित भएको प्रशासनको भनाइ छ।