बिर्तामोड, १६ साउन गते । झापाको कनकाई नगरपालिका-२ सुरुङ्गाबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले ठुलो परिमाणको लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको जोगबनी नाका हुँदै भित्री सडक भएर ल्याउँदै गरेको अवस्थामा शनिबार दिउँसो १२:३० बजे दुई जना भारतीयलाई बिक्रीका लागि ल्याइएको लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत, बिहार प्रदेशको अररिया, कुरसाकट्टा ठेगाना भएका २७ वर्षीय अझर अन्सारी र २८ वर्षीय महमद एहवाल रहेका छन्।
उनीहरूको साथबाट १०२ ग्राम ३१० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर), नियन्त्रित लागुऔषध ट्रमाडोल सात हजार २०० क्याप्सुल, नाइट्राभेट सात हजार ४५० ट्याब्लेट र दुई थान मोबाइल बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक रवि राई नेतृत्वको टोलीले उक्त लागुऔषध बरामद गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिनुभयो।