चन्द्र पन्दाक
ताप्लेजुङ,१० साउन : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनेको भन्दै बधाईको ओइरो लागेको छ। मुख्यमन्त्रीमा नियुक्तिको औपचारिक टुङ्गो नलाग्दै मेन्याङ्बोलाई शनिबार दिउँसोदेखि बधाई दिनेको लर्को लागेको हो।
कोशी प्रदेशको १० औँ मुख्यमन्त्री नियुक्त हुनुभएको दाबी गर्दै पार्टी कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत सफल कार्यकालको शुभकामनासहित बधाई दिइरहेका छन्।
एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका मेन्याङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने वा नबनाउने विषयमा अन्तिम निर्णय भइनसकेको एमाले स्रोतले जनाएको छ। काठमाडौँमा रहनुभएका मेन्याङ्बोले आफूलाई मुख्यमन्त्रीका लागि ‘ग्रिन सिग्नल’ भने प्राप्त भएको बताउनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई आफ्नै निवासमा बोलाएर छलफल गर्नुभएको बुझिएको छ।