काठमाडौँ,३१ असार: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको पनि महाशाखाले जनाएको छ ।
अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
भोलि बिहीबार र पर्सी शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
भोलि र पर्सी कोशी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी, बामगती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।