महिला सहकारीकर्मीहरूको शक्तिशाली सन्देश: “विराटनगर घोषणापत्र” जारी

भोजराज घिमिरे शुक्रबार, चैत्र ०६, २०८२

विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङद्वारा विराटनगरमा आयोजित एक दिवसीय “महिला सहकारी गोष्ठी, २०८२” भव्य रूपमा सम्पन्न भएको छ । गोष्ठीमा सहभागी सयौं महिला सहकारीकर्मीहरूले सहकारी अभियानलाई सुदृढ, पारदर्शी र दिगो बनाउने प्रतिबद्धतासहित “विराटनगर घोषणापत्र” सार्वजनिक गरेका छन् ।
घोषणापत्रमार्फत सहकारीको मूल मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै गुणस्तरीय सहकारी अभियान निर्माण गर्ने अठोट व्यक्त गरिएको छ । सहभागीहरूले सहकारी क्षेत्रमा लैङ्गिक समानता सुनिश्चित गर्दै महिलाको अर्थपूर्ण सहभागिता बढाउने, निर्णय तहमा पहुँच विस्तार गर्ने र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छ।
कार्यक्रममा सहकारी क्षेत्रप्रति फैलिएको नकारात्मक छवि हटाउन सदस्य शिक्षा, तालिम र जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । साथै, “मर्यादित सहकारी, समुन्नत समाज” नारालाई व्यवहारमा उतार्ने प्रतिवद्धता दोहोर्याइएको छ ।
⚖️ सुशासन र नेतृत्वमा जोड
घोषणापत्रमा सहकारीमा सुशासन, प्रभावकारी सेवा प्रवाह, वैकल्पिक नेतृत्व विकास र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ । साथै, महिलाको गुणात्मक सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।
सहकारी संस्थाको वित्तीय सुदृढीकरण, बचतकर्ताको हित संरक्षण र भ्रामक गतिविधिमाथि कडाइ गर्न सरकारसँग आग्रह गरिएको छ । समस्याग्रस्त सहकारीका बचतकर्तालाई भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्नुपर्ने माग पनि उठाइएको छ ।कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले प्रदेश सरकारले महिला सशक्तीकरणमा निरन्तर काम गरिरहेको बताए । उनले महिला सहकारीकर्मीहरूको सशक्तीकरणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रमा महिलाको भूमिका अर्थपूर्ण र प्रभावकारी रहेको उल्लेख गरे । आगामी जेठमा महिला सहकारी सम्मेलन आयोजना गरिने जानकारी दिँदै उनले महिलाको योगदानबारे व्यापक छलफल हुने बताए ।
प्रदेश सहकारी रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा महिलाको संख्या बढी भए पनि निर्णय तहमा प्रभाव कत्तिको छ भन्ने प्रश्न अझै बाँकी रहेको बताए । उनले ३३% सहभागिता व्यवस्था मात्र पर्याप्त नभई व्यवहारिक नेतृत्व आवश्यक रहेको औंल्याए ।
गोष्ठीमा तीन सयभन्दा बढी महिला सहकारीकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम आयोजक समितिकी संयोजक हिमा मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय सहकारी महासंघकी पूर्व महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्गले “लैंगिक समानता र सामाजिक रूपान्तरणमा सहकारी” विषयमा कार्यपत्र प्रस्तुत गरिन् भने सहकारी अभियन्ता लक्ष्मीप्रसाद उप्रेतीले “सहकारीमा महिला नेतृत्व र सुशासन” विषयमा प्रस्तुति दिएका थिए ।
महिला सहकारीकर्मीहरूको यो भेला केवल गोष्ठीमा सीमित नभई नीति, नेतृत्व र व्यवहार परिवर्तनको स्पष्ट सन्देशका रूपमा देखिएको छ । “विराटनगर घोषणापत्र” अब सहकारी क्षेत्र सुधारको मार्गचित्र बन्ने अपेक्षा गरिएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!