सुनसरी–३ मा चौथो निर्णायक भिडन्त: गच्छदार बनाम भगवती विरासत, विकास र मत विभाजनको चुनावी गणित

भोजराज घिमिरे बिहिबार, माघ १६, २०८२

सुनसरी –
सुनसरी क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा निर्वाचन यसपटक पनि दुई प्रभावशाली नेताबीचको कडा प्रतिस्पर्धामा केन्द्रित हुने देखिएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीबीच चौथोपटक प्रत्यक्ष चुनावी भिडन्त हुन लागेको हो।
मतदाता र चुनावी तयारी
सुनसरी–३ मा कुल १ लाख ३४ हजार ३०२ मतदाता छन्। निर्वाचन आयोगको अनुमानअनुसार ६५ देखि ७० प्रतिशत मत खस्ने अपेक्षा गरिएको छ। चुनाव नजिकिँदै जाँदा प्रमुख दलहरूले संगठन सुदृढीकरण र मतदाता केन्द्रित अभियानलाई तीव्र बनाएका छन्।
यसैबीच, नेपाली कांग्रेस दुहवी नगर समितिले दुहवीस्थित अमन पार्टी प्यालेसमा चुनावी छलफल तथा कार्यकर्ता भेला आयोजना गरेको छ। भेलामा सहभागी कांग्रेस कार्यकर्ताले यसपटक गच्छदारलाई उल्लेख्य मतान्तरले जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आठौँ पटक मैदानमा गच्छदार
नेपाली कांग्रेसले सुनसरी–३ बाट विजयकुमार गच्छदारलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। २०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट चुनाव लड्दै आएका गच्छदार आठौँ पटक चुनावी मैदानमा उत्रिन लागेका हुन्।
२०७९ सालको निर्वाचनमा गच्छदार एमाले नेतृ भगवती चौधरीसँग पराजित भएका थिए। यसपटक पनि उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ। कांग्रेसभित्र विशेष महाधिवेशनको विपक्षमा उभिएका गच्छदारलाई गगन थापा नेतृत्वको संसदीय बोर्डले टिकट दिएको विषय पार्टीभित्रै चर्चाको विषय बनेको छ।
विरासत फर्काउने प्रयास
२०४८ देखि २०७४ सम्म लगातार ६ पटक निर्वाचन जितेका गच्छदारले २०७९ मा पहिलोपटक पराजय बेहोरेका थिए। त्यस निर्वाचनमा भगवती चौधरीले दशकौँ लामो राजनीतिक वर्चस्व तोड्दै ऐतिहासिक जित हात पारेकी थिइन्। सोही जितपछि उनी संघीय सरकारमा मन्त्री बनेकी थिइन्, जसले उनको राजनीतिक हैसियत थप बलियो बनेको विश्लेषण छ।
१२ वर्षको प्रतिद्वन्द्विता
गच्छदार र भगवतीबीचको चुनावी प्रतिद्वन्द्विता २०७० सालदेखि निरन्तर चलिरहेको छ। २०७० र २०७४ मा पराजित भएकी भगवतीले २०७९ मा तेस्रो प्रयासमा गच्छदारलाई हराएकी थिइन्। यही कारण यसपटकको चुनावलाई राजनीतिक वृत्तमा ‘निर्णायक चौथो भिडन्त’ का रूपमा हेरिएको छ।
भगवती चौधरीले मन्त्रीका रूपमा सुनसरी–३ मा पूर्वाधार, सडक, खानेपानी, शिक्षा र सामाजिक क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढी बजेट भित्र्याएको दाबी गर्दै पुनः जनताको विश्वास मागिरहेकी छन्।
असन्तुष्टि र थारू मत निर्णायक
उता गच्छदार भने २०७९ को हारलाई अस्थायी ठहर गर्दै अनुभव, विकासको इतिहास र कांग्रेस संगठन नै आफ्नो जितको आधार भएको दाबी गर्छन्। तर, गच्छदारको उमेर र निरन्तर उम्मेदवारीलाई लिएर कांग्रेसभित्रै युवा पुस्ता र केही नेताहरू असन्तुष्ट देखिन्छन्। यो असन्तुष्टि मतमा परिणत भए चुनावी गणित प्रभावित हुन सक्ने आँकलन गरिएको छ।
थारू समुदाय बाहुल्य रहेको सुनसरी–३ मा थारू मत निर्णायक मानिन्छ। यही मत आधारलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अशोक चौधरी र नेपाल कम्युनिस्ट पार्टीबाट दुर्गेश चौधरी उम्मेदवार बनेका छन्। यद्यपि संगठन कमजोर रहेकाले मुख्य प्रतिस्पर्धा भने गच्छदार र भगवतीबीच नै सीमित हुने देखिन्छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!