अन्तर्राष्ट्रिय तनाव र डलर कमजोरिँदा सुनको मूल्य उकालो, एकैदिन २० हजारको छलाङ

भोजराज घिमिरे बिहिबार, माघ १६, २०८२

बिराटनगर –
स्थानीय बजारमा सुनको मूल्यले अस्वाभाविक उचाइ छोएको छ। बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार एकैदिन २० हजार रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिनहरूमा सुनको मूल्य वृद्धिदर तीव्र बनेको छ।
माघ सुरु भएयता मात्र १५ दिनको अवधिमा सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँले बढिसकेको छ। पुस ३० गते प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ रहेको सुन हाल ऐतिहासिक महँगो बन्दै गएको छ।
स्थानीय होइन, अन्तर्राष्ट्रिय असर
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार भन्सार दरमा परिवर्तन नभएको अवस्थामा यति ठूलो मूल्यवृद्धि स्थानीय कारणले सम्भव हुँदैन।
उनका अनुसार हाल देखिएको मूल्य उछाल अन्तर्राष्ट्रिय बजारको प्रत्यक्ष प्रभाव हो।
“सुनको मूल्य वृद्धि स्थानीय बजारको खेल होइन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको असर स्वाभाविक रूपमा नेपालमा देखिएको हो,” बज्राचार्यले बताए।
डलर कमजोर, सुन सुरक्षित लगानी
विश्लेषकहरूका अनुसार विश्व राजनीतिक र आर्थिक अस्थिरताका कारण अमेरिकी डलर कमजोर बन्दै गएको छ। डलर कमजोर हुँदा लगानीकर्ताहरू जोखिमयुक्त सम्पत्तिबाट बाहिरिँदै सुनजस्ता सुरक्षित लगानीतर्फ आकर्षित हुने गर्छन्।
अमेरिका–इरानबीच बढ्दो तनाव, खाडी क्षेत्रमा युद्ध फैलिन सक्ने आशंका, चीन र रूससमेत जोडिए विश्वयुद्धको सम्भावना बढ्ने विश्लेषणले विश्व बजारमा डर र अनिश्चितता बढाएको छ। यस्तो अवस्थामा लगानीकर्ताहरूले सुनलाई ‘सेफ हेभेन’ का रूपमा रोज्ने प्रवृत्ति बढेको छ।
विश्व आर्थिक शक्ति सन्तुलन फेरिँदै
क्यानडा र बेलायतले चीनसँग व्यापारिक सम्झौता गर्नु, युरोपियन युनियनले भारतसँग व्यापारिक सहकार्य अघि बढाउनु जस्ता घटनाले विश्व आर्थिक शक्ति सन्तुलन परिवर्तन हुँदै गएको संकेत गर्छ। यसले डलरप्रतिको निर्भरता घट्दै गएको र वैकल्पिक लगानीको खोजी बढेको देखिन्छ।
त्यसैगरी, भारत र चीनजस्ता देशका केन्द्रीय बैंकहरूले डलर बेचेर सुन सञ्चिति बढाइरहेका छन्। चीनले ठूलो परिमाणमा सुन खरिद गरेको तथ्यले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढाएको छ।
मूल्य अझै बढ्ने संकेत
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय राजनीतिक तनाव र डलर कमजोर हुने क्रम यथावत् रहेमा निकट भविष्यमा पनि सुनको मूल्य घट्ने संकेत देखिँदैन। बरु, मूल्य थप उकालो लाग्न सक्ने जोखिम कायम छ।
यसले एकातर्फ लगानीकर्तालाई सुनतर्फ आकर्षित गरिरहेको छ भने अर्कोतर्फ आम उपभोक्ताका लागि सुन खरिद झन् कठिन बन्दै गएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!