विराटनगरमा प्रोटन इमासको नयाँ सोरुम सञ्चालन, कोशी प्रदेशमा पहिलो शाखा
विराटनगर। मलेसियन ब्रान्ड प्रोटन इमास को नयाँ सोरुम विराटनगरमा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो कोशी प्रदेशमा खुलाइएको पहिलो सोरुम हो भने देशभर सातौँ शाखाका रूपमा विस्तार भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा जगदम्बा मोटर्सका बिजनेस हेड आकाश विक्रम थापाले कोशी प्रदेशमा पहिलोपटक प्रोटन इमासको सोरुम सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले यो वर्षको अन्त्यसम्म देशभर १२ वटा सोरुम पुर्याउने लक्ष्य रहेको उल्लेख गरे।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले प्रोटन इमास ७ ईभी आधुनिक समयअनुसारको पूर्णतया उपयुक्त इलेक्ट्रिक भेहिकल भएको बताए। उनका अनुसार यात्रु–मैत्री डिजाइन, किफायती मूल्य, शक्तिशाली प्रदर्शन तथा अत्याधुनिक प्रविधि नै इमास ७ ईभीको मुख्य आकर्षण हुन्।
सोरुम उद्घाटन समारोहमा नाडा कोशी प्रदेशका अध्यक्ष डिल्लीराम आचार्य, पूर्वअध्यक्ष सुवास आचार्यसहित उद्योग–व्यापार क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले नयाँ सोरुम तथा इमास मोडेलको व्यावसायिक सफलताका लागि शुभकामना व्यक्त गरे।
शंकर ग्रुप अन्तर्गत नेपालमा टु ह्विलर र फोर ह्विलर का आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले हालै मलेसियन प्रोटन इमास ७ ईभी कार नेपाली बजारमा ल्याएको हो। इमास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रहने कम्पनीले जनाएको छ।
नयाँ सोरुम सञ्चालनमा आएपछि अब विराटनगर तथा आसपासका ग्राहकले प्रोटन इमास ७ ईभीको टेस्ट ड्राइभ, बुकिङ तथा बिक्री–पछिको सेवा सुविधाहरू आफ्नै सहरमै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।