सलहेस फुटबल क्लब सिरहालाई दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को उपाधि
पथरी शनिश्चरे, मोरङ । कार्तिक २३ गते।
सिरहाको सलहेस फुटबल क्लबले दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सलहेसले आयोजक पथरी–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै शानदार जित हासिल गरेको हो।
खेलको १८औं मिनेटमा आयोजक पथरी–११ का धिरेन क्षेत्रीले पेनाल्टी सुटमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ५७औं मिनेटमा सलहेसका जय गुरुङले पेनाल्टी सुटमै बराबरी गोल फर्काए। त्यसपछि ६८औं मिनेटमा समीर तामाङले अर्को गोल गर्दै सलहेसलाई २–१ को निर्णायक अग्रता दिलाए।
खेलको उत्कृष्ट प्रदर्शनका लागि सलहेसका जय गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए। यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी युकेश तामाङ, उदयमान खेलाडी समीर क्षेत्री, र सर्वाधिक गोलकर्ता विल्सन रिचार्ड घोषित भए।
विजेता सलहेस फुटबल क्लबले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता पथरी–११ फुटबल क्लबले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ।
प्रतियोगिताको उद्घाटन मोरङ क्षेत्र नं. ३ का निवर्तमान सांसद डा. सुनिल शर्माले पानसमा बत्ती बालेर र बेलुन उडाएर गर्नुभएको थियो।
उद्घाटन समारोहमा बोल्दै डा. शर्माले पछिल्ला वर्षहरूमा नेपाली खेलकुद क्षेत्रमा भइरहेको उल्लेखनीय प्रगतिबारे चर्चा गर्दै पथरी शनिश्चरे नगरमा स्थानीय खेल विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्घाटनअघि विभिन्न जातजाति र समुदायका प्रतिनिधिहरूले आ–आफ्ना सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।
त्यस्तै, मध्यान्तरमा ‘भ्वाइस अफ किड्स’का फाइनलिस्ट निश्चल लिम्बुले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको देशभक्ति गीत प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।