बुद्धशान्तीमा अखिल नेपाल महिला संघद्वारा तीज विशेष कार्यक्रम, सात जना व्यक्तित्वलाई सम्मान
बुद्धशान्ती–२, जयपुरचोकस्थित सामुदायिक भवनमा अखिल नेपाल महिला संघ, बुद्धशान्ती गाउँ कमिटी झापाले तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा सन्देशमूलक नाटक, विविध सांस्कृतिक प्रस्तुति तथा महिलाहरूको आकर्षक नृत्य प्रस्तुतिहरूले उत्सवको माहोल सिर्जना गरेका थिए। “म छम छम” गीतमा महिलाद्वारा प्रस्तुत नृत्यले कार्यक्रमलाई झनै रमाइलो बनाएको थियो।
महिला सशक्तीकरण, समाजमा जागरण र तीज पर्वलाई अझ अर्थपूर्ण बनाउन आयोजना गरिएको कार्यक्रममा स्थानीय सरोकारवाला, संघ–संस्था प्रतिनिधि तथा ठूलो संख्यामा महिला दिदीबहिनीहरूको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ।
साथै कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सात जना व्यक्तित्वलाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा दिपा मिश्र, समिता अर्याल (अटोचालक), सरु कालिकोटे (सिटीचालक), रिना मल्लिक, रिता मल्लिक (बजार सरसफाइ कर्मी) र अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल हासिल गरेका चन्द्र गौतम तेक्वान्डो खेलाडी समेत रहेका थिए।