बाढीपहिरोबाट हालसम्म ६३ वटा जिल्ला प्रभावित

Radio Nagarik 100.4 MHz शनिबार, भाद्र १२, २०७८

काठमाडौं । बाढीपहिरोबाट नेपालमा हालसम्म ६३ वटा जिल्ला प्रभावित भएका छन् । जेठ ३१ देखि भदौ ११ गतेसम्म बाढीपहिरोका कारण ६३ वटा जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यो मनसुनमा बाढीपहिरोका कारण ९० जनाले ज्यान गुमाइसकेका छन् । ४५ जना बेपत्ता र ९६ जना घाइते भएको विपद् जोखिम न्यूनीकरण प्राधिकरणकाे विवरणमा उल्लेख छ । यसैगरी ४० जिल्लामा ७५९ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १६८ वटा घरमा आंशिक क्षति भएको छ । बाढीपहिरोका कारण ३७ वटा सरकारी कार्यालय, १५ वटा सामुदायिक भवन–स्कुल, २५ वटा जलविद्युत आयोजना, २९ वटा मोटरेबल पुलमध्ये ७ वटा काठेपुल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण बाजुरामा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् । त्यस्तै ११ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५ वटा घरमा आंशिक क्षति भएको छ । गोरखामा बाढीबाट चार जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै १६ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ५८ वटा घरमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । मनाङमा बाढीका कारण ५९ वटा घर पूर्णरुपमा र २० वटा घरमा आंशिक रुपमा क्षति भएको छ । साथै बाढीले सडक एक, बेलिब्रिज एक, सामुदायिक भवन एक, झोलुङ्गे पुल आठ, पक्कि पुल दुई, मोटरेवल काठेपुल सात, सरकारी कार्यालय चार, स्कुल १ र दुई वटा बैंकमा क्षति पुगेको छ । त्यस्तै चारवटा विद्युतीय पावर हाउसमध्ये दुईवटा पूर्ण रुपमा क्षति भएको छ भने दुईवटाको पाइप लाइन बाढीले बगाएको छ ।

सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका छन् भने ४५० घर पूर्णरुपमा क्षति भएको छ । यसैगरी आठवटा पक्कि पुल, १५ वटा झोलुङ्गे पुल, १० वटा माछा फर्म, अन्य सरकारी भवन ३२ वटा र एक फर्निचर उद्योग सामुदायिक भवनमा क्षति पुगेको छ ।

त्यस्तै प्यूठानमा बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने एक घर पूर्णरुपमा र एक घर आंशिक रुपमा क्षति भएको छ । पाल्पामा अविरल वर्षाका कारण पाँच जनाको मृत्युभएको छ भने सात जना घाइते भएका छन् । साथै पाँच घर पूर्णरुपमा क्षति भएको छ । लमजुङमा बाढीले ३५ घरमा पूर्ण क्षति र ५६ घरमा आंशिक क्षति भएको छ । त्यस्तै एक मन्दिर, एक आमा समूहको भवन, दुई झोलुङ्गे पुल र एक सब डिभीजन वन कार्यालयमा क्षति भएको छ । डोटीमा पहिरोका कारण चारको मृत्यु र तीन घाइते हुनुका साथै एक घर पूर्णरुपमा क्षति भएको छ ।

जुम्लामा हिमपहिरोका कारण चार जनाको मृत्यु, एक जना बेपत्ता, तीन जना घाइते र तीन घर पूर्णरुपमा क्षति भएको छ । अर्घाखाँचीमा दुई जनाको मृत्यु र १२ घरा पूर्णरुपमा क्षति भएको छ । कास्कीमा एक जनाको मृत्यु, तीन जना घाइते र एक सडक, दुई स्कुल र एक फलामे पुलमा क्षति पुगेको छ । काभ्रेमा एक जनाको मृत्यु, रुपन्देहीमा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । साथै १५ घर पूर्णरुपमा क्षति भएको छ ।

कालिकोटमा दुई जना, सप्तरीमा दुई जनाको मृत्यु भएको छ । मुस्ताङमा पहिरोका कारण एक घर पूर्णरुपमा क्षति भएको छ । बझानमा एक जनाको मृत्यु, एक जना घाइते र तीन घर पूर्णरुपमा क्षति भएको छ । चितवनमा दुई जनाको मृत्यु, तीन जना बेपत्ता, एक जना घाइते भएका छन् । साथै पाँच घरमा पूर्ण क्षति भएको छ भने दुई पक्कि पुल बगाएको छ । हुम्लामा पहिरोले पाँच घर पूर्णरुपमा र पाँच घरमा आंशिक क्षति भएको छ । पाँचथरमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । रोल्पामा पहिरोबाट तीन जनाको मृत्यु, पाँच जना घाइते र सात घर पूर्णरुपमा क्षति भएको छ ।

सोहीअनुसार दाङमा पाँच जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै पाँच घर पूर्णरुपमा क्षति भएको छ । संखुवासभामा एक घरमा पूर्णरुपमा क्षति भएको छ । रौतहटमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । साथै आठ घर पूर्णरुपमा र पाँच घरमा आंशिक क्षति भएको छ । सर्लाहीमा अविरल वर्षाका कारण बाढीले एक जनाको मृत्यु, तीन जना घाइते र नौ घर पूर्णरुपमा क्षति भएको छ । साथै एक मन्दिर र एक महिला समूह भवनमा क्षति पुगेको छ ।

यसैगरी तनहुँमा पाँच जनाको मृत्यु, एक जना बेपत्ता र १० जना घाइते भएका छन् । १५ घर पूर्णरुपमा र चार घर आंशिक रुपमा क्षति भएको छ । साथै एक पक्कि पुल बगाएको छ । धादिङमा दुई जनाको मृत्यु, एक बेपत्ता र छ जना घाइते भएका छन् । बारामा चार घर पूर्णरुपमा क्षति भएको छ । सिन्धुलिमा दुई जनाको मृत्यु र एक घरमा पूर्णरुपमा क्षति भएको छ । अछाममा पहिरोका कारण एक जना बेपत्ता, एक जना घाइते भएका छन् भने एक पक्कि पुलमा क्षति पुगेको छ । मोरङ र सिरहामा एक–एक वटा पक्कि पुलमा क्षति पुगेको छ ।

त्यस्तै, खोटाङमा अबिरल वर्षाका कारण दुई जनाको मृत्यु, तीन जना घाइते र चार घर पूर्णरुपमा क्षति भएको छ । रामेछापमा एक जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । सुनसरीमा एक घरमा पूर्णरुपमा क्षति भएको छ । धनुषामा चार घरमा पूर्णरुपमा र छ घर आंशिक रुपमा क्षति भएको छ । सोलुखुम्बुमा चार घर पूर्णरुपले क्षति भएको छ भने एक विद्यालयमा क्षति पुगेको छ । मकवानपुरमा एक जनाको मृत्यु र आठ घर पूर्णरुपमा क्षति भएको छ भने एक पक्कि पुल बगाएको छ । उदयपुरमा एक जनाको मृत्यु र एक घर पूर्णरुपमा क्षति भएको छ । साथै एक पक्कि पुल र एक स्कुलमा क्षति पुगेको छ । नवलपरासी पूर्वमा तीन जना बेपत्ता, एक जना घाइते र आठ घर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै एक पक्कि पुलमा क्षति भएको छ ।

यसैगरी पर्वतमा दुई जनाको मृत्यु, एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । म्याग्दीमा दुई जनाको मृत्यु, एक जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । बागलुङमा एक जना बेपत्ता, तीन घर पूर्णरुपमा र दुई घरमा आंशिक क्षति भएको छ । दार्चुलामा पाँच जनाको मृत्यु, चार जना घाइते र पाँच घर पूर्णरुपमा क्षति भएको छ । बैतडीमा चार घर पूर्णरुपमा र चार घरमा आंशिक क्षति भएको छ भने दुई मन्दिर र एक प्रतिक्षालयमा क्षति भएको छ । तेह्रथुममा पहिरोका कारण एक घर पूर्णरुपले क्षति भएको छ । नुवाकोटमा एक जनाको मृत्यु, दुई जना घाइते र चार घर पूर्ण क्षति भएको छ ।

भोजपुरमा पाँच जना घाइते र दुई घरमा पूर्ण क्षति भएको छ । सल्यानमा दुई जनाको मृत्यु, तीन जना घाइते र एक घरमा पूर्ण क्षति भएको छ । ओखलढुंगामा तीन घरमा पूर्ण र चार घरमा आंशिक क्षति भएको छ । डडेल्धुरामा एक जना घाइते र एक घरमा आंशिक क्षति भएको छ । रुकुम पूर्वमा एक जना घाइते र एक घरमा पूर्ण क्षति भएको छ । कैलालीमा दुई जनाको मृत्यु, दुई बेपत्ता, दुई घाइते र एक घरमा पूर्ण क्षति भएको छ । रुकुम पश्चिममा एक जनाको मृत्यु, दुई घाइते र एक घरमा पूर्ण क्षति भएको छ । रसुवामा पाँच जनाको मृत्यु, एक जना घाइते र पाँच घरमा पूर्ण क्षति भएको छ ।

त्यस्तै, गुल्मीमा एक जना घाइते भएका छन् । कपिलवस्तुमा एक जनाको मृत्यु, नवलपरासी पश्चिममा दुई जनाको मृत्यु, तीन जना बेपत्ता, दुई जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । बैतडीमा दुई घर पूर्णरुपले क्षति भएको छ । दैलेखमा तीन जना घाइते भएका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!