एलिनाज जनावर संरक्षक नेपालद्वारा सहयोगी हातहरूको भव्य सम्मान

भोजराज घिमिरे मंगलबार, माघ ०७, २०८२

चार वर्षदेखि सडकका असहाय र बिरामी कुकुरलाई निःशुल्क उपचार गर्दै उदाहरणीय कार्य
विराटनगर — आवाजविहीन र सडकमा बेसाहारा अवस्थामा भौतारिरहेका घाइते, अपाङ्ग तथा रोगी जनावरहरूको उद्धार, संरक्षण र निःशुल्क उपचार गर्ने उद्देश्यले स्थापना गरिएको एलिनाज जनावर संरक्षक नेपालले आफ्ना सहयोगी हातहरूलाई सम्मान गरेको छ।
संस्थाले हाल उपचारका क्रममा २७ वटा कुकुरको संरक्षण गरिरहेको छ। ती कुकुरहरू प्यारालाइसिस, क्यान्सर, लुतो, सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका तथा जन्मजात अपाङ्ग अवस्थामा रहेका छन्। धरान, विराटनगर तथा आसपासका क्षेत्रबाट उद्धार गरिएका यी कुकुरहरूको नियमित औषधोपचार, हेरचाह र पुनःस्थापनाको काम संस्थाले गर्दै आएको छ।
भवन निर्माणदेखि खानेपानीसम्म सहयोग गर्ने दातालाई विशेष सम्मान
संस्थाको भौतिक संरचना निर्माणदेखि लिएर कुकुरहरूलाई खानेपानीको सुविधाका लागि धारा जडानसम्म पूर्ण सहयोग पु¥याउनु हुने एटीभी वार एन्ड रेस्टुरेन्टका प्रोप्राइटर आशिष देव र सिद्धि अधिकारीलाई कार्यक्रममार्फत खादा, मायाको चिनो तथा प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको छ। संस्थाले उहाँहरूको योगदानले असहाय जनावरको जीवन बचाउन ठूलो टेवा पुगेको भन्दै हृदयदेखि धन्यवाद व्यक्त गरेको छ।
प्राकृतिक विपत्तिमा साथ दिने विराटनगर लेडिज सर्कल–५ को योगदान
केही समयअघि आएको भीषण हावाहुरीका कारण संस्थाको छाना उड्नुका साथै पर्खाल ढलेर सम्पूर्ण संरचना जोखिममा परेको थियो। उक्त कठिन परिस्थितिमा विराटनगर लेडिज सर्कल–५ले नगद रु. १ लाख सहयोग गरी भवन पुनर्निर्माणमा महत्त्वपूर्ण योगदान दिएको थियो। सो सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सर्कलकी अध्यक्ष कुसुम लुनियासहित सम्पूर्ण टिमलाई सम्मान गरिएको हो।
सभापति एलिना प्रसाईंको अध्यक्षतामा कार्यक्रम
सम्मान कार्यक्रम एलिनाज जनावर संरक्षक नेपालकी सभापति एलिना प्रसाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा विराटनगर भन्सार कार्यालय आईसीपीका प्रबन्धक लक्ष्मी सुब्बाको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि सुब्बाले एलिनाज जनावर संरक्षक नेपालले समाजमा अत्यन्तै मानवीय र प्रेरणादायी कार्य गरिरहेको उल्लेख गर्दै संस्थालाई ह्यान्डमाइक सहयोग गर्ने तथा कुकुरहरूका लागि खानेकुरा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सभापति एलिना प्रसाईं, संस्थापक सदस्य रमा प्रसाईं र साहिल प्रसाईंसहित सम्पूर्ण टिमको खुलेर प्रशंसा गर्नुभयो।
चार वर्षदेखि निरन्तर सेवा
संस्थाले विगत चार वर्षदेखि सडकमा हिँडिरहेका रोगी, क्यान्सरग्रस्त, लुतोग्रस्त, अपाङ्ग तथा दुर्घटनामा परेका कुकुरहरूको उद्धार गरी उपचार गर्दै आएको छ। उपचारपछि सम्भव भएसम्म पुनःस्थापना र सुरक्षित संरक्षणको व्यवस्था गर्दै संस्थाले थुप्रै कुकुरलाई नयाँ जीवन दिएको छ।
विशिष्ट अतिथि तथा समाजसेवीहरूको उपस्थिति
कार्यक्रममा विशिष्ट अतिथि तथा सम्मानित व्यक्तिहरूमा समाजसेवी अबु गुरुङ, सन्दीप घिमिरे, भेटेरिनरी चिकित्सक आयुष काफ्ले, प्रगतिशील आमा समूहकी शशी गौतम, संसारि माइ स्थान भजन समूहकी कोषाध्यक्ष मिना भट्टराई, समाजसेवी जुली प्याकुरेल सिंह, जीवन भट्टराई, उमा शंकर यादव, जनावर प्रेमी तथा स्वान रेस्क्यु फाउन्डेसनका संस्थापक इसा राजवंशी, समाजसेवी हिक राज श्रेष्ठ, नवपथ मिडियाका प्रबन्धक निर्देशक तथा पत्रकार भोजराज घिमिरेलगायतलाई पनि सम्मान गरिएको थियो।
स्वागत मन्तव्य र सञ्चालन
कार्यक्रममा संस्थापक सदस्य रमा प्रसाईंले स्वागत मन्तव्य राख्दै संस्थाको यात्राबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रम सञ्चालन पुष्प दाहालले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले एलिनाज जनावर संरक्षक नेपालले सरकारी तहबाट पर्याप्त सहयोग नपाएको अवस्थामा पनि स्वयंसेवी भावना र समाजका सहयोगी हातको भरमा उदाहरणीय काम गर्दै आएको भन्दै भविष्यमा थप सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!