जिल्ला सहकारी संघ मोरङको ३३औँ वार्षिक साधारणसभा सम्पन्न राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन, १० लाखभन्दा बढी खुद नाफा

भोजराज घिमिरे बिहिबार, पौष २४, २०८२

विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङको ३३औँ वार्षिक साधारणसभा विराटनगरस्थित श्रीकृष्ण होटलमा भव्य रूपमा सम्पन्न भएको छ । साधारणसभाले आगामी कार्यकालका लागि राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै पद तथा गोपनीयताको सपथग्रहण पनि सम्पन्न गरेको छ ।
संघका अध्यक्ष डा. डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल रहनु भएको थियो । विशिष्ट अतिथिका रूपमा कोशी प्रदेश अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापाको उपस्थिति रहेको थियो ।
सहकारी क्षेत्रमा सुधार र पारदर्शितामा जोड
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक छत्रप्रसाद रिमाल र योगमाया सुवेदी, नेफ्स्कुनका सञ्चालक लक्ष्मी सापकोटा, कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवं जिल्ला सहकारी संघ मोरङका सल्लाहकार हरी सुवेदी लगायतले सहकारी क्षेत्रको वर्तमान अवस्था, देखिएका चुनौती तथा सुधारका उपायबारे धारणा राखेका थिए । वक्ताहरूले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउनु आजको आवश्यकता रहेकोमा जोड दिएका थिए ।
साधारणसभामा पूर्व सहकारी रजिस्ट्रार हरीबहादुर खत्री, नेफ्स्कुनका पूर्व सञ्चालक गोमा नेपाल सापकोटा, संघका सल्लाहकारहरू ताराबहादुर काफ्ले, मोहनलाल सरदार, रामचन्द्र गौतम, डा. उद्धव पोखरेल, बिरेन्द्र यादव तथा कानुनी सल्लाहकार एवं मतदान अधिकृत अधिवक्ता राजेश सुब्बाको उपस्थिति रहेको थियो ।
यस्तै, जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइराला, जिल्ला उपभोक्ता सहकारी संघ मोरङका अध्यक्ष माघव अत्री, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङका अध्यक्ष एवं निर्वाचन समिति सदस्य माधव अधिकारी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्ले, राष्ट्रिय सहकारी बैंकका कोशी प्रदेश प्रमुख चिरञ्जीबी तिम्सिना, निर्वाचन समिति सदस्य अनुराज पाठक तथा राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रमुख विवेक डाँगी र विवेक रिजालको समेत सहभागिता रहेको थियो ।
नयाँ नेतृत्व निर्विरोध चयन
साधारणसभाले संघको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई निर्विरोध निर्वाचित गरेको हो । नयाँ नेतृत्वमा अध्यक्षमा राकेश दाहाल चयन भएका छन् । दाहाल यसअघि संघको सचिवका रूपमा सक्रिय थिए ।
संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, उपाध्यक्षमा संगीता दाहाल, सचिवमा अमृतबहादुर गुरुङ, सहसचिवमा हेरम्बराज भट्टराई र कोषाध्यक्षमा ई. कमलेश्वर ठाकुर सर्वसम्मत निर्वाचित भएका छन् ।
सञ्चालक सदस्यहरूमा विजयकुमार सरदार, लक्ष्मण बुढाथोकी, अविनाशकुमार निधि, कोपिला आचार्य रिमाल, कुमार फुयल, उदयनारायण बराल, सूर्यकुमार दाहाल, हेमराज सुवेदी, उमेश गुरुङ, हिमा मैनाली र गोविन्द निरौला चयन भएका छन् ।
त्यसैगरी, दुर्गाप्रसाद गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिका सदस्यमा आषिशकुमार यादव र आशाकुमारी माझी थारु रहेका छन् ।
१० लाख ८२ हजार रुपैयाँभन्दा बढी खुद नाफा
साधारणसभामा अध्यक्ष डा. डिल्ली पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघले आर्थिक वर्ष २०८१/८२ मा ३७ लाख ४१ हजार ५४२ रुपैयाँको कारोबार गर्दै १० लाख ८२ हजार ३५४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संघको सेयर पूँजी ४१ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ भने १ करोड ३१ लाख रुपैयाँभन्दा बढी ऋण लगानी रहेको जानकारी दिइएको छ ।
साधारणसभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै सहकारी अभियानलाई अझ पारदर्शी, जिम्मेवार र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको संघले जनाएको छ ।
नवनिर्वाचित पदाधिकारीहरूले बुधबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!