पशुपंक्षी औषधि बजारमा संगठन सुदृढीकरणको प्रयास
विराटनगर शाखाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन
विराटनगर । पशुपंक्षी औषधि बजारमा बढ्दो अव्यवस्था, अनुगमनको कमजोरी र व्यवसायिक मर्यादामाथि उठिरहेका प्रश्नबीच नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, विराटनगर शाखाले संगठन सुदृढीकरणतर्फ कदम चालेको छ। संघको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा इटहरीमा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ।
इटहरीस्थित होटल दरबार (भाटभटेनी नजिक) मा २०८२ साल पौष १९ गते आयोजित अधिवेशन संघका अध्यक्ष मदन लामिछानेको अध्यक्षता तथा प्रमुख अतिथि तुलसी भण्डारीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा पशुपंक्षी औषधि व्यवसायमा देखिँदै आएका नक्कली औषधि, अवैध बिक्री वितरण, मूल्य नियन्त्रणको अभाव तथा सरकारी निकायको कमजोर अनुगमनबारे गम्भीर छलफल भएको जनाइएको छ।
अधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा विराटनगर र आसपासका बजार क्षेत्रमा दर्ता बिना सञ्चालनमा रहेका औषधि विक्रेता, म्याद गुज्रेका औषधिको बिक्री तथा प्राविधिक जनशक्ति बिना कारोबार भइरहेको अवस्थाले पशुपालक किसान र उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम बढाएको उल्लेख गरिएको थियो। यस्ता विकृति अन्त्य गर्न संघले आन्तरिक अनुशासन कडा बनाउने र सम्बन्धित सरकारी निकायलाई प्रभावकारी अनुगमनका लागि दबाब दिने निष्कर्ष निकालिएको छ।
सोही अधिवेशनबाट संघको दोस्रो कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित अध्यक्षमा सन्दीप तिम्सिनालाई चयन गरिएको छ भने निवर्तमान अध्यक्ष मदन लामिछाने रहेका छन्। उपाध्यक्षमा सन्तोष यादव, सचिवमा सुमन राउत, कोषाध्यक्षमा अर्जुन चौधरी तथा सह–सचिवमा ललित कुमण्डल चयन भएका छन्।
नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा सुमन कुमार कट्टेल, सुनिल यादव, प्रदीप घिमिरे, ॐप्रकाश कार्की, अजित कुमार झा र शशि शेखर श्रेष्ठ रहेका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले पशुपंक्षी औषधि बजारलाई नियमनबिनाको व्यापार क्षेत्रका रूपमा छोडिनु नहुने भन्दै गुणस्तर, पारदर्शिता र पेशागत आचारसंहिताको कडाइ अनिवार्य रहेको बताएका थिए। संघले आगामी दिनमा अवैध कारोबारविरुद्ध तथ्य संकलन, अनुगमन टोली गठन तथा सरोकारवाला निकायसँग समन्वय गरी दबाबमूलक अभियान सञ्चालन गर्ने जनाएको छ।
पशुपालक किसानको स्वास्थ्य, खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको यस क्षेत्रमा सुधारका लागि संघको प्रतिबद्धता व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छ, त्यो भने आगामी दिनमा स्पष्ट हुने देखिन्छ।