विराटनगर, ११ पुस — नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आज सम्पन्न स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरूले स्वास्थ्य परीक्षण गराएका छन्। विराट नर्सिङ होमको प्राविधिक सहयोगमा आयोजित शिविरमा मुटु, आँखा र कानसम्बन्धी परीक्षण गरिएको हो।
स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरूमा उच्च रक्तचाप र आँखासम्बन्धी समस्या बढी देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्। शिविरमा ७ जना विशेषज्ञ चिकित्सकसहित १४ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो। स्वास्थ्य समस्या देखिएका पत्रकारहरूलाई ओपीडी कार्ड प्रदान गर्दै ७ दिनभित्र अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।
स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकारहरूले समस्यापछि मात्र अस्पताल जाने प्रवृत्ति त्यागी नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले महासंघ केन्द्रीय समितिले पत्रकारको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सिईओ) निकिता कार्कीले समाचार संकलनमा दिनरात खटिने पत्रकारहरूले आफ्नो स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्य सुरक्षामा ध्यान दिनुका साथै दैनिक रूपमा रक्तचाप परीक्षण गर्न सुझाव दिनुभयो। पत्रकार महासंघसँग सहकार्य गर्दै पत्रकारहरूको नियमित स्वास्थ्य परीक्षणमा सहयोग गर्न अस्पताल सधैं तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।
नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार तथा पूर्व अध्यक्ष बन्धु पोखरेलले पत्रकारहरूको स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो। उहाँले आफ्नो कार्यकालदेखि नै मोरङमा पत्रकारहरूको स्वास्थ्य उपचारका लागि अस्पतालहरूसँग सहकार्य सुरु गरिएको स्मरण गर्नुभयो। साथै स्वास्थ्यसँगै शिक्षामा पनि प्याब्सन तथा हिसानसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले पत्रकारहरूको स्वास्थ्यलाई केन्द्रमा राख्दै शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले महासंघले आगामी दिनमा स्वास्थ्य परीक्षणसँगै स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू पनि नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।