बिराटनगर – न्यूरे अस्पतालले रगत अनुदान दिवस का रूपमा मनाउँदै विभिन्न स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही सन्दर्भमा भारतको हरियाणा राज्यस्थित फरीदाबादको अमृता अस्पतालसँग सहकार्य गर्दै विराटनगरमा निःशुल्क स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श कार्यक्रम सम्पन्न गरिएको छ।
अमृता अस्पताल भारतकै सबैभन्दा ठूलो सरकारी अस्पतालहरूमध्ये एक हो, जसमा २,६०० शैय्यासहित अत्याधुनिक सुविधा, विश्वस्तरका ICU तथा CCU सेवा उपलब्ध छन्। अस्पताल विश्वप्रसिद्ध आध्यात्मिक नेतृ श्री माता अमृतानन्दमयी देवी (अम्मा) द्वारा स्थापना एवं सञ्चालन गरिएको हो।
विराटनगरस्थित न्यूरे अस्पतालले अमृता अस्पतालसँगको सहकार्यमा न्यूरोसर्जरी र पल्मोनोलोजीसहित विभिन्न विषयमा कन्टिनीउइङ मेडिकल एजुकेशन (CME) कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा उपस्थित वरिष्ठ न्यूरोसर्जन प्रा. डा. सञ्जय पाण्डे तथा विशेषज्ञ डा. सौरभ पौडेलले स्वास्थ्यकर्मी र चिकित्सकलाई उपचारका नयाँ प्रविधि, विशेषगरी मस्तिष्क तथा स्नायु सम्बन्धी शल्यक्रिया, आधुनिक प्रविधि र अनुभवहरूबारे जानकारी दिएका छन्।
सो अवसरमा अमृता अस्पतालका वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्र कुमार बिष्ट र वरिष्ठ न्यूरोलोजिस्ट डा. सुनन्द पौडेललगायतका चिकित्सकहरूले पनि सेवा तथा ज्ञान आदान–प्रदान गरेका छन्।
न्यूरे अस्पतालले कोशी प्रदेश तथा मधेश प्रदेशका बिरामीलाई गुणस्तरीय, सुलभ र विशेषज्ञ सेवाहरू उपलब्ध गराउँदै आएको छ। विशेष गरी गम्भीर न्यूरो उपचार, अग्न्याशय तथा कलेजो प्रत्यारोपण, रोबोटिक सर्जरीलगायतका सेवामा अमृता अस्पताल एक महत्वपूर्ण सहकार्यकर्ता बन्ने अस्पतालले जनाएको छ। बिरामीहरूले भविष्यमा अझ सस्तो, सहज र अत्याधुनिक सेवा पाउने अपेक्षा गरिएको छ।
अस्पताल व्यवस्थापनले विराटनगरमा आयोजित कार्यक्रमले प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, पत्रकार तथा आमजनताले कार्यक्रमप्रति दर्शाएको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरिएको छ।