पथरी शनिश्चरे ।
मोरङको पथरीशनिश्चरेमा फुटबलको माहोल तात्ने भएको छ। राष्ट्रियस्तरका चर्चित खेलाडी, ए डिभिजन क्लब र भारतको टोलीको जमघटसँगै असोज १७ गतेदेखि पथरी रंगशालामा तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ सुरु हुँदैछ।
पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा सलहेस फुटबल क्लब, न्युरोड फुटबल टिम, नेपाल पुलिस क्लब, भारत पश्चिम बंगालको युकेएफसी, झापा–११, रेड हर्ष इलाम, पथरी–११ र थ्री स्टार क्लब आमनेसामने हुँदैछन्।
प्रतियोगितामा नेपालका राष्ट्रियस्तरका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। भारतबाट आउने केही खेलाडीले आइ–लिगसमेत खेलेको आयोजकको दाबी छ। चर्चामा रहेका खेलाडी एरण थापासमेत मैदानमा उत्रिने आयोजकले जनाएको छ।
गत संस्करणको विजेता सलहेस फुटबल क्लब उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। तर उपाधिका लागि नेपाल पुलिस, थ्री स्टार, न्युरोड, झापा–११, भारतीय टोली र आयोजक पथरी–११ समेत मैदानमा रहेकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।
८० लाखको प्रतियोगिता, आयोजकसँग ९ लाख मात्रै!
प्रतियोगिता भव्य बनाउने तयारी भइरहे पनि आयोजक आर्थिक दबाबमा छ। करिब ८० लाख रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगिताका लागि हालसम्म नगद रूपमा करिब ९ लाख रुपैयाँ मात्र संकलन भएको अध्यक्ष सुमन विकले बताएका छन्।
सबैभन्दा ठूलो चुनौती बनेको छ—टाइटल स्पोन्सरको अभाव। प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा पनि टाइटल स्पोन्सर निश्चित हुन सकेको छैन। सहयोगको प्रतिबद्धता आए पनि प्रतिबद्ध रकममध्ये केही अझै प्राप्त हुन बाँकी रहेको आयोजकले जनाएको छ।
२३ प्याराफिट, फाइनलमा १५ हजार दर्शकको लक्ष्य
दर्शकलाई लक्षित गर्दै यसपटक १७ बाट बढाएर २३ वटा प्याराफिट निर्माण गरिएको छ। करिब ५ देखि ६ हजार दर्शक प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
लिग चरणमा कम्तीमा तीन हजार र फाइनलमा १५ हजारसम्म दर्शक आउने आयोजकको अपेक्षा छ। सामान्यतर्फ प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख
यसपटक गोल्डकपको पुरस्कारसमेत बढाइएको छ। विजेताले ६ लाख रुपैयाँ नगदसहित ट्रफी र उपविजेताले ३ लाख रुपैयाँ नगद पाउनेछन्।
मैदानलाई समेत दुईदेखि अढाई महिनादेखि विशेष निगरानीमा राखेर घाँस संरक्षण, पानी हाल्ने, रोलर चलाउने तथा ग्रेडिङ गर्ने काम गरिएको छ। अहिले मैदानको घाँस काट्ने काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
पथरीबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य
पथरी–११ ले गोल्डकपलाई प्रतियोगिता मात्र नभई स्थानीय खेलाडी उत्पादन गर्ने अभियान का रूपमा अघि बढाउने जनाएको छ। क्लबका अनुसार पथरीबाट उत्पादन भएका धीरेन विष्ट र समीर क्षेत्रीले मछिन्द्रबाट राष्ट्रिय लिग खेलिसकेका छन् भने नीरज परियार नेपाल पुलिस क्लबमा आबद्ध भएर खेलिसकेका छन्।
असोज १७ देखि २६ गतेसम्म हुने गोल्डकपमा राष्ट्रिय खेलाडी, ए डिभिजन क्लब र भारतीय टोलीको भिडन्तले पथरी रंगशालामा फुटबलको गर्मी बढाउने भएको छ।