प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोलाको किनारबाट चार जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहीबार बिहानदेखि चारवटा शव फेला परेका हुन् । फेला परेका शवको पहिचान खुल्न सकेको छैन ।
स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षीय बालकको शव फेला परेको छ । बालक खोलाको छेउमा उत्तानो अवस्थामा मृत फेला परेका हुन् ।
यस्तै, स्वर्गद्वारी नगरपालिका–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी नगरपालिका–४ गोठीबाङस्थित माडी खोलाको किनारमा पनि एक महिलाको शव फेला परेको छ ।
त्यसैगरी, स्वर्गद्वारी नगरपालिका–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ ।
शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्री, प्रहरी चौकी लामाचौर र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।