विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा रहेको डिप बोडिङ्गमा जडान गरिएको विद्युत ट्रान्सफर्मर फोडेर तामाको क्वाइल चोरी भएको छ। चोरीका कारण गाउँका करिब ५० बिघा जमिनमा सिँचाइ रोकिएको छ भने गाउँपालिकाको ठूलो कृषि विद्युतीकरण योजनामै चुनौती खडा भएको छ।
वडाध्यक्ष जग नारायण मेहताका अनुसार ट्रान्सफर्मर उहाँकै खेतमा जडान गरिएको थियो र बुधबार राति ९ बजेसम्म सिँचाइ गरिएको थियो। तर बिहीबार बिहान खेत पुग्दा ट्रान्सफर्मर फुटाइएको अवस्थामा भेटिएको र भित्रको तामाको क्वाइल चोरी भएको देखिएको थियो। तुरुन्तै स्थानीयवासी र प्रहरीलाई खबर गरिएको मेहताले जानकारी दिनुभयो।
उक्त डिप बोडिङ्गबाट सयौं किसान लाभान्वित हुँदै आएका थिए। सगुन जल उपभोक्ता समितिका अध्यक्ष विनोद मेहताले यस्तो आपराधिक कार्यले कृषिमा प्रत्यक्ष असर परेको भन्दै तत्काल समाधानको माग गर्नुभएको छ। “अहिलेको प्रचण्ड घाममा सिँचाइ अत्यावश्यक छ। यो बोडिङ्ग बिग्रँदा तरकारी र अन्नबालीमा प्रतिकूल असर पर्नेछ,” उहाँले भन्नुभयो।
किसान विशेषश्वर मेहताले स्थानीय सरकारसँग डिप बोडिङ्ग तत्काल मर्मत गर्न आग्रह गर्दै भने, “हामीले लगाएको तरकारी अहिले नै सुक्न थालिसकेको छ। यदि केही दिनभित्रै समाधान भएन भने पूरै लगानी डुब्नेछ।”
गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीमावर्ती क्षेत्रका तस्करहरूले ट्रान्सफर्मर फोडेर चोरी गरेको आशंका व्यक्त गर्दै घटनाको कडा शब्दमा निन्दा गर्नुभयो। “अहिले यस्तो चर्को घाममा किसानलाई राहत दिने ट्रान्सफर्मर फोड्नेहरूलाई गोली हान्नुपर्ने अवस्था आएको छ,” अध्यक्ष मेहताले चेतावनी दिँदै भन्नुभयो।
गाउँपालिकाले हाल १०० ट्रान्सफर्मर जडान गरेर सम्पूर्ण वडामा विद्युतीकरणको योजना अघि बढाइरहेको छ। तर हालैको घटनाले यो योजना नै खतरामा पार्ने संकेत देखिएको अध्यक्ष मेहताले बताउनुभयो। “यदि यस्ता चोरी नियन्त्रण भएनन् भने हाम्रो विद्युतीकरण योजना नै असफल हुन सक्छ। यस विषयमा प्रहरी प्रशासनसँग आजै छलफल हुनेछ,” उहाँले जानकारी दिनुभयो।